असोज ६,डोटी :सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । शनिवार ४४ औँ सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले गैरसरकारी संस्थाहरूले सामाजिक सेवाका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए । नगर प्रमुख खड्का भने, ‘स्थानीय र नागरिक संस्था मिलेर जानु पर्दछ । मन वचन र कर्मले सेवामा सबैले लाग्नु पर्दछ।’
वितरण कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका पूर्व केन्द्रीय सदस्य लक्ष्मण खड्काले समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि दिवसको महत्त्व रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपाली सामाजिक सेवामा गैरसरकारी संस्थाहरूले उदाहरणिय कार्य गरेको बताए । पछिल्लो समय गैरसरकारी संस्थाहरुले सामाजिक भाव घटाउदै गएकोले सचेत रहन अनुरोध गरे।
गैरसरकारी संस्था महासंघ डोटीका कार्यवाहक अध्यक्ष तीर्थ पन्तले सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाहरू निरन्तर रूपमा कार्य गर्दै आइरहेको बताए । जुन उद्देश्यले संस्था जन्मिएका हुन् सोही अनुसार कार्य गर्न जोड दिए।
गैरसरकारी संस्था महासंघ डोटीको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटी, गुड नेभर ईन्टरनेशनल ,सिड नेपाल र सम विकास केन्द्र डोटी लगायतको आर्थिक सहयोगमा वितरण गरिएको जनाएको छ।
२०३४ साल असोज ६ मा समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो । ‘सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ’ भन्ने उद्देश्यले परिषद्को स्थापना भएको थियो ।
समाज सेवामा नागरिकको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन सुरु गरेको हो ।
यस वर्षको सामाजिक सेवा दिवसको नारा ‘दिगो विकास राष्ट्रिय प्रतिबद्धता ,लक्ष्य प्राप्तिमा संघसंस्थाको सहभागिता ’ भन्ने रहेको छ ।