गणेश मौनी,असोज ३ डोटी:डोटीमा संविधान दिवसलाई विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
२०७२ साल असोज ३ नेपालको संविधान जारी भएको दिनलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको संविधान दिवस मूल समारोह समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
मूल समारोह समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ अर्यालले नेपाली जनताको अधिकतम सहभागिताबाट संविधान सभाको निर्वाचनको माध्यमबाट संविधान निमार्ण भई देशको मूल कानुन भएकोले यसको कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले भने,’नेपालको संविधानमा धेरै मौलिक अधिकारहरू उल्लेख गरिएका छन्। नेपालको संविधान समावेशी लोकतन्त्रको जग पनि हो यस दिवसलाई विभिन्न तवरबाट कार्यान्वयनको चरणमा सफल पार्न सबैको सहयोग महत्त्वपूर्ण रहेको छ।’
मूल समारोह समितिले आयोजना गरेको दिवस समारोहमा असोज २ गते जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूले आफ्नो कार्यालय परिसरमा सरसफाइ गर्ने, ३ गते बिहान सिलगढी स्थित इन्द्रचोकबाट प्रभात फेरी सहित दिपायल सिलगढी नगरपालिकाको सभा हलमा अन्तरक्रिया कार्यक्रमका साथै साँझ शैलेश्वरी मन्दिरमा दीप प्रज्वलित गर्ने र असोज ४ गते सबैले आफ्नो कार्यालय अगाडी दीप प्रज्वलित गर्ने कार्यक्रम रहेको समेत मूल समारोह समितिले जनाएको छ ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, सुरक्षा निकायहरूको सहभागिता रहेपनी जनप्रतिनिधि र राजनीतिक दलका प्रमुख प्रतिनिधीहरुको सहभागिता न्यून रहेको थियो ।