
प्रकाश बम,डोटी :पाठेघर सम्बन्धी समस्या भएका महिलाहरूको समस्यालाई मध्यनजर गर्दै सुजङ्ग अस्पताल राजपुरले सञ्चालन गरेको निः शुल्क स्वास्थ्य शिविरमा दुई सय १८ जना लाभान्वित भएका छन् ।
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा अस्पतालले बिहीबार र शुक्रवार (दुई दिन) निःशुल्क स्वास्थ्य शिविरमा पाठेघर सम्बन्धी समस्या भएका दुई सय १८ जना महिलाहरूले सेवा लिएका हुन् ।
पहिलो दिन निःशुल्क शिविरमा ८१ जना र दोस्रो दिन एक सय ३७ जनाले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरूले सेवा लिएको अस्पताल प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
अस्पताल प्रशासन प्रमुख बलायरका अनुसार दुई दिन सम्म सञ्चालन गरेको शिविरमा पाठेघर खसेका ,तल्लो पेट दुख्ने, सेतो गन आउने ,पानी बग्ने, पिसाब पोल्ने, ढाड दुख्ने, यौैनि चिलाउने ,पाठेघरमा घाउ भएका समस्या भएका महिलाहरूले शिविरमा चेकजाँच गर्न आएको उनले बताए ।
शिविरमा पहिलो र दोस्रो दिन आएका महिलाहरू मध्य २५ जनाको पाठेघरमा मासु पलाएको,घाउ भएको, फोका भएको, पाठेघर खसेको समस्या भएका कारणले अप्रेसन गर्नु पर्ने देखिएको अस्पताल प्रशासन प्रमुख बलायरले बताए ।
उनले भने,‘प्रजनन स्वास्थ्यबारे अहिले पनि कमै खुल्ने गरेका छन् । अहिले पनि ग्रामीण क्षेत्रमा पाठेघर सम्बन्धी समस्या विकराल अवस्था रहेको छ । ग्रामीण क्षेत्रका महिलाहरूको समस्यालाई मध्यनजर गर्दै दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ । शिविरमा ग्रामीण क्षेत्रका दुई सय बढी दिदिबहिनीहरुको सेवा गर्न पाउँदा खुसी छौँ । यस्ता अभियानलाई निरन्तरता दिँदै जानेछौ।’
दुई दिनको शिविरमा उपचार गर्न आउने महिलाहरूको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर र दुखदायी पाएको डा. सुभाष थापामगरले बताए । उनले भने, ‘सरसफाइको अभाव र अशिक्षाले गर्दा ज्यानै जोखिममा राखेर रोग लुकाएर बस्नु भएको छ ।’
आफूलाई पहिला देखि तल्लो पेट निक्कै दुख्ने गरेकाले निःशुल्क शिविरमा आउँदा समस्या पत्ता लागेको पुर्विचौकि गाउँपालिकाकी पद्मा देवी बोगटीले बताइन् । उनले भनिन्,‘ समयमै समस्या पत्ता लाग्यो । अव छिट्टै समस्या समाधान भएर निको हुने विश्वास छ ।’
हामी जस्ता गरिब असहायका लागि नि:शुल्क स्वास्थ्य शिविरले ठुलो राहत पुगेको दिसिनपा -३ कि निर्मला साउँदले बताइन् । आगामी दिनमा सुजङ अस्पतालले यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सबैको मन जित्दै जाने साउँदले भनिन् ।
नि:शुल्क रूपमा भिडियो एक्स-रे, रगत जाँच र औषधी पाउँदा दिपायल सिलगढी नगरपालिका -३ कि सरस्वती साउद भण्डारीले खुसी व्यक्त गरिन् ।
दुई दिने शिविरमा डाक्टर एमडी थापामगर र एमबिबिएस डाक्टर राजमनि यादव लगायतले उपचार सेवा दिएको बलायरले बताए ।
तिजका अवसर स्थानियतह लगायतले नाच गान र दर खानपानमा बजेट खर्च गरिरहँदा सुजङ्ग अस्पतालले महिलाहरूको समस्यालाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य शिविर गर्दा शिविरमा सहभागी महिलाहरूले खुसी व्यक्त गरे ।
शिविरमा डोटी, अछाम र डडेल्धुराका सेवाग्राहीहरूले सेवा लिएको अस्पतालले जनाएको छ ।