प्रकाश बम,डोटी : मुक्त हलियाको पुनः स्थापनका लागि सात वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन् । धेरै जसो घर जगदेखि नै भत्किई सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन् । पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनः स्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ जङ्गलका रूपमा परिणत हुनाका साथै सबै घर भत्किँदै गएका हुन् । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवार बस्नका लागि सरकारद्वारा स्थापना गरिएको उक्त बस्तीमा निर्माण भएको सात वर्ष बितिसक्दासमेत कोही पनि नबस्दा बस्ती जङ्गलका रूपमा परिणत हुँदै जान थालेको छ ।
सरकारले निर्माण गरेको उक्त बस्तीमा पानी तथा बिजुली नहुँदा मुक्तहलिया बस्न नसकेको हलिया मुक्ति समाज डोटीका अध्यक्ष बजिर सिंह नेपाली बताए । हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनुपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको बिच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्त हलियाको गुनासो छ ।
जिल्लाभरि मुक्त हलियाका नाममा जमिन तथा घर निर्माण भएको बताउँदै अहिले बस्तीको बारेमा धेरै कुरा थाहा नभएको जिल्ला मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर माझीले बताए ।
सरकारले हलिया पुनः स्थापनाको काम सक्ने बताए पनि प्रभाकारी कार्यान्वयन नहुँदा वास्तविक पुनः स्थापना हुनेमा मुक्तहलियामा शङ्का पैदा गरेको छ । मुक्तहलिया पुनः स्थापना बस्तीमा एक घर पनि मापदण्डअनुसार नबनेका स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएका घर भुईंतले मात्र छन् भने उचाइ सात फिटभन्दा तल छ । बगलेकमा मापदण्डअनुसारका घर नबनेको जानकारी आफूलाई पनि प्राप्त भएको प्रमुख माझीले स्वीकार गरे । दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहराजस्तो घर निर्माण गरेर मुक्तहलियाले अनुदान लिएको पाइएको छ ।
नेपाल सरकारले जग्गा खरिदका लागि दुई लाख र घर निर्माणका लागि तीन लाख २५ हजार दिएको उनले बताए ।
बस्तीमा निर्माण गरिएका सबै घरहरू भत्किएका छन् । विसं २०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाखको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो । हनुमान हर्टिकल्चर प्रालिका नाममा रहेको उक्त जमिन विसं २०७५ असारमा फेरि १८ जनाले व्यक्तिगत जग्गा खरिद गरेर पास भएको थियो । मुक्तहलिया बस्दै आएको ठाउँबाट केही दूरीमा रहेको उक्त जमिन सुविधा नरहेको जानकारी हुँदाहुँदै पनि त्यो समयमा जमिन खरिद र घर निर्माण रहस्यको विषय बनेको स्थानीयवासीको आरोप छ ।
हलियाका लागी बनाएका बस्तीमा हलिया नै नबस्नु अनुसन्धानको विषय बनेको स्थानीयको आरोप छ। राज्यले यस विषयमा तत्काल सोधिखोजी गर्नुपर्ने स्थानीयको भनाई रहेको छ।
स्थानीय सरकारलाई बस्तीका बारेमा आधिकारिक कुनै जानकारी नभएको पुर्बीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । उनले भने ,’घरहरू निर्माण भएर भत्की सकेका छन् । के कतिमा बनेका हुन् । कोले बनाएको हो । किन बसेनन् । सोधिखोजी हुन् आवश्यक छ।’
हलियालाई पुनः हलिया नै बनाई राख्नका लागि बगलेकको जङ्गलमा बस्ती राख्न प्रपञ्च गरिएको हलिया अध्यक्ष नेपाली बताए । आधारभूत आवश्यकता पुरा गरेमा फेरि पनि जसका नाममा घर निर्माण गरिएका छन् उनीहरू तयार रहेको उनले बताए । उनले भने,’ अहिले कतिपय कैलाली ऐलानीमा घर बनाएर बसेका छन् । कतिपय पुरानै घरमा फिर्ता भएका छन् ।’
वास्तविक हलिया नभएर नबसेका त होइनन् ?भन्ने प्रश्नमा अध्यक्ष नेपाली सेवा सर्त पूरा भए भोलि नै हलियाहरु बस्न आउने उनले जिकिर गरे।
पूर्वीचौकी–२ बगलेक र दिपायल सिलगढी नगरपालिका वडा नं ७ मा मुक्तहलियाका ३० परिवारको पुनः स्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । प्रतिपरिवार रु पाँच लाख २५ हजारको लगानी भएको भए पनि हाल केही परिवार पुरानो घर र धेरै जसो हलिया कैलालीमा घर बनाएर बस्दै आएका श्रोतले बताइएको छ ।
जिल्लामा ११ सय ५३ जना हलिया पुन : स्थापना भएको पाइएको छ । ३३ जना हलियाले एक किस्ता मात्र पाएका छन् भने ६७ जनाले परिचय पत्र पाएको बताईको छ । ८७ जना लिस्टमा भएका तर परिचयपत्र नपाएका रहेको अध्यक्ष नेपाली बताए ।