असोज २, अछाम -अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले बताएका छन् ।
जिल्ला पुगेका मन्त्री कुवँरले बाढी र पहिरोका कारण जिल्लामा ठुलो धनजनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै राहत र उद्घारमा कमि हुन नदिने बताएका हुन् ।
शुक्रबार रातिको बाढी र पहिरोमा परी २२ जना पहिरो र १ जनाको खोलाले बगाएर मृत्यु भएको अछाममा पुगी विपद्को बेला सबैले सचेत हुन समेत उनले आग्रह गरेका छन् ।
पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर घाइतेको उपचार सरकारले गर्ने बताए ।
मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रमा गई राहत सामग्री पनि वितरण गरे । मन्त्री कुँवरले त्रिपाल, ब्लांकेट, खाद्यान्न लगायत सामग्रीसहित नगद सहयोग गर्नुभएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । मन्त्री कुँवरले मृतक प्रतिव्यक्ति १० हजारका दरले मृतकका आफन्तलाई सहयोग समेत गरेका छन् ।
यसैगरी गृह मन्त्रालय मार्फत प्रमुख जिल्ला अधिकारी मरासिनीले प्रति परिवार १ लाखका दरले किरिया खर्च उपलब्ध गराएका छन् । थप सहयोग पछि हुने र तत्कालका लागि किरिया खर्च बापत प्रतिपरिवार १ लाख उपलब्ध गराइएको उनले बताए ।