ईश्वर साउँद, असोज ,१ कैलाली-बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलाली जिल्लाको दक्षिणी क्षेत्र डुवानमा परेको छ । चुरे मुहान भएर बग्ने पथरैया, कन्द्रा, काँढा, मोहना, खुटीया, कटैनी नदिमा आएको वाढीले कैलालीको भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढी लगाएतका पालिकामा डुवान भएको छ ।
यता टीकापुर नगरपालिकाको वडा नम्बर ८ को वनगाउँ क्षेत्रमा कर्णाली नदि गाउँ पसेको छ ।
जिल्लाका विभिन्न पालिकामा भएको डुवानका कारण हजारौं नागरिक प्रभावित भएका छन् भने सयौ घर डुवानमा परेका छन् । जिल्लामा कैलालीको भजनी नगरपालिका सबै भन्दा बढी प्रभावित भएको छ ।
भजनी नगरपालिका सबै डुवानमा परेको र त्यसमा पनि वडा नम्बर ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनी नगरपालिकाका नगर प्रमुख केवल चोधरीले जानकारी दिए । पुरै पालिका डुवानमा परेको छ, अहिले डुवानमा परेकाहरुको उद्धार कार्य जारीरहेको छ । कति घर डुवानमा परे कति धनको क्षति भयो भन्ने अहिले आँकलन गर्न सकीने अवस्था नरहेको प्रमुख चौधरीको भनाई छ ।
टीकापुर नगरपालिकामा कर्णाली, मोहना र पथरैया नदिको पानी गाउँमा पस्दा करिब साढे ५ सय घर डुवानमा परेका छन् । वडा नम्बर ८ को वनगाँउमा कर्णाली नदिले तटबन्द भत्काएर गाउँमा पस्दा त्यहाँ निकै जोखीम बढेको छ । त्यहाँका नागरिकहरुलाई उच्च घरमा सारीएको छ । अहिलेको यो तथ्यांक नै अन्तिम नभएको र अझै पनि तथ्यांक संकलन गर्ने काम जारी रहेकाले वाढीबाट प्रभावितहरुको संख्या बढ्न सक्ने नगर उप–प्रमुख खडक शाहले जानकारी दिए ।
जानकी गाउँपालिकामा पनि पथरैया नदिको पानी गाउँमा पस्दा वडा नं. ४ र ७ का १ सय ५ घर विस्थापित भएका छन् भने २ सय घर परिवार प्रभावित भएका छन् । उनीहरु अहिले स्थानीय स्तरमा बनेका उच्च घरमा आश्रय लिएर बसीरहेका र डुबानबाट विस्थापित परिवारलाई गाउँपालिकाले सामुहिक मेस संचालन गरि खानाको व्यवस्था गरेको जानकी गाउँपालिका विपद् व्यवस्थापन शाखाका संयोजक नेत्र प्रसाद जैशीले जानकारी दिए ।
जोशीपुर गाउँपालिकामा पनि करिब १ हजार घर डुवानमा परेका र त्यसको एकिन तथ्यांक आउन केहि दिन लाग्ने गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले जानकारी दिए । अहिले गाउँपालिकाले वाढीबाट विस्थापित भएकाहरुलाई सुरक्षित स्थान तर्फ सारी उनीहरुलाई तत्कालिन राहात दिने काम भइरहेको अध्यक्ष चौधरीले वताए ।
कैलारी गाउँपालिकाको पनि वडा नम्बर १,२,५,७ र ८ डुवानमा परेका छन् । १ र २ नम्बर आंशिक रुपमा डुवानमा परे पनि ५, ७ र ८ नम्बर वडाका सबै घरहरु डुवानमा परेका कारण कति घर डुवानमा परे भनि तथ्यांक समेत लिन सकिने अवस्था छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा डुवानमा फसेकाहरुलाई उद्धार गर्ने काम भइरहेको गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्थानीय पालिका तथा वडा कार्यालयको समन्वय र सहकार्यमा उद्धार तथा उनीहरुलाई तत्कालिन राहात प्रदान गर्ने काम भइरहेको छ । कर्णाली नदिमा पनि पानीको सतक घट्ने क्रम रहेको छ । कर्णाली चिसापानीमा गएराति १० मिटर ७५ सेन्टिमिटर पुगेको पानीको सतह अहिले घटेर ९ मिटर ९५ सेन्टिमिटर झरेको जल तथा मौषम विज्ञान विभागको जल मापन केन्द्र कर्णाली चिसापानीकी गेज रिर्डर पार्वती गुरुङले जानकारी दिईन् ।