सिलगढी-डोटीको दिपायल सिलगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । ‘पूर्ण खोप सुनिश्चित भविष्य’ भन्ने मूल नाराका साथ आइतबार नगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
यो पालिका जिल्लाको अन्तिम पालिकाको रुपमा घोषणा भएको हो । अन्य आठवटा पालिका यस अघिनै घोषणा भइसकेका छन् ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले सबै सुचक पार गरेर नगर घोषणा भएको बताए । यो संगै सबै पालिका पूर्ण खोप घोषणा भइसकेका कारण अब छिट्टैनै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने मलासीले बताए ।
पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिकाहरु जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिकी उप-संयोजक स्मृति चुनारा विकले बताइन । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनु पर्ने उनले बताइन ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बाजीसिं खड्काले सत्रै स्वास्थ्यकर्मीहरुको सहयोग र सक्रियताले नगर घोषणा सम्भव भएको बताउँदै आगामी वर्षहरूमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने जनाए ।