सिलगढी :डोटीमा महिलाहरूको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल परिवार नियोजन संघ डोटी शाखाको आयोजना तथा पुर्बी चौकी गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सोमबार पुर्बीचौकी गाउँपालिकाको – ५ काडामाडौंमा सञ्चालन गरिएको हो ।
शिविर सञ्चालन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्काले यस्ता शिविरले महिला दिदिबहिनीहरुमा ठुलो सहयोग पुग्ने बताइन् । मानिसको जिवनको लागि स्वास्थ नभई नहुने भएकोले विभिन्न किसिमका स्वास्थ शिविरलाई निरन्तरता दिइने उनले बताईन् ।
शिविर सञ्चालन कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ डोटीकी सभापति प्रेमा श्रेष्ठले महिलाको समस्या महिलाले बुझ्ने भएकाले विभिन्न ठाउँमा शिविर सञ्चालन गर्न सहयोग गरेको पालिकालाई धन्यवाद दिइनन् । उनले भनिन् ,´नेपाल परिवार नियोजन संघले महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी निरन्तर रूपमा काम गर्दै आइरहेको छ। ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि स्वास्थ्य समस्यालाई लुकाएर बसेकाले ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेका हौँ । शिविरमा धेरै महिला दिदीबहिनीले सेवा लिएर समस्याबाट छुटकारा पाउने छन् ।`
आगामी दिन पनि निरन्तर रूपमा स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरिने सभापति श्रेष्ठले बताइन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल परिवार नियोजनका कोषाध्यक्ष रघु कठायतले स्वास्थ्य नै धन भएकाले हामी सबै मिलेर यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सहभागीहरूलाई स्वागत गरेका थिए।
शिविर दोस्रो दिन जेठ २३ गते बग्लेक सञ्चालन गरिने जनाएको छ।
कार्यक्रममा वडा नम्बर -४ वडा अध्यक्ष बल बहादुर खड्का परिवार नियोजन संघका सचिव सेर बहादुर बोगटी, स्वास्थ्यकर्मी लगायतको उपस्थित रहेको थियो ।