डोटी : सायल गाउँपालिकामा सञ्चालित नि:शुल्क स्वास्थ्य तथा दन्त शिविरमा एक हजार ७ सय १० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् । सगरमाथा हेल्थ फाउन्डेसन तथा हेल्थ केयर नेपाल र सायल गाउँपालिकाको संयुक्त आयोजनामा १५ गते देखि १८ गते सम्म शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा हाडजोर्नी, दाँत, स्त्री रोग लगाएतका स्वास्थ्य समस्या रहेका बिरामीहरूको चेकजाँच, उपचार गर्नुका साथै निशुल्क औषधि वितरण तथा परामर्श दिइएको सगरमाथा हेल्थ फाउन्डेसनका अध्यक्ष डा. दीपक प्रकाश महराले बताए ।
शिविरमा एक हजार १८ जना हाडजोर्नीको समस्या भएका बिरामी, पाँच सय ६ जना दाँतका बिरामी र दुई सय २९ जना गाइनो (स्त्री रोग) का बिरामीको चेकजाँच तथा उपचार गरिएको थियो।
भौगोलिक विकटताका कारण स्वाथ्य सेवाबाट वञ्चित रहेका बिरामीहरूको उपचार र चेकजाँचका लागि शिविरको आयोजना गरिएको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए। शिविरमा नि:शुल्क स्वास्थ्य चेकजाँच, उपचार, परामर्श तथा नि:शुल्क औषधि वितरण गरिएको उनले बताए ।
शिविरमा टिचिङ्ग हस्पिटल महाराजगञ्ज र प्रसूति गृह काठमाडौंका चिकित्सक र दन्त तथा आँखाका चिकित्सकहरुले सेवा दिएका थिए । शिविर सञ्चालनले स्थानीय बिरामीहरुलाई राहत मिलेको बताउँदै स्थानीयहरुले यस्ता कार्यक्रम वार्षिक रूपमा सञ्चालन गर्नु पर्ने माग गरेका छन् ।