सरिता कठायत,डोटी:डोटी जिल्लाकै पहिलो स्थानीय तहको रूपमा पूर्ण खोप सुनिश्चितता घोषणा शिखर नगरपालिकाले गरेको छ । जेठ सम्म सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसक्नुपर्ने भएकाले शिखर नगरपालिकाले वैशाख ३१ गतेसम्म बालबालिकाहरूलाई पूर्ण खोप लगाएर जिल्लाकै पहिलो स्थानीय तहमा घोषणा भएको छ ।
सोमबार नगरपालिकाको हलमा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो । बालबालिकाहरूको हक,अधिकार भित्र खोप पनि पर्ने भएकोले सबै बालबालिकाहरूले सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने हुन्छ ।
नगरपालिका र वडामा रहेका स्वास्थ्य संस्थाहरूले स्वास्थ्यका सबै क्षेत्रका कामहरू जिल्ला स्वास्थ्यमा जानकारी हुनुपर्ने पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वयका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले जिल्लाकै पहिलो नगरपालिकाका रूपमा पूर्ण खोप सुनिश्चितता घोषणा भएकोले नगरपालिका तथा स्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई बधाई समेत सिंहले दिएका छन् । नगरपालिका स्वास्थ्यका क्षेत्रमा सधैँ चिन्तन भएर अगाडि बढिरहेको शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । उनले आफू निर्वाचित भरसकेपछि नगरका जनताको स्वास्थ्य अवस्थाका विषयमा बढी जोड गर्दै आइरहेको र आगामी दिनमा अझै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने जोराको भनाइ रहेको छ । स्वास्थ्य क्षेत्रमा सबै स्थानीय तहहरूले १०% बजेट विनियोजित गर्नुपर्ने हुन्छ जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले बताएका छन् । उनका भनाइ अनुसार स्वास्थ्य क्षेत्रका रूपमा शिखर नगरपालिका सबैभन्दा अगाडि रहेको समेत मलासिले जानकारी गराए । १६ महिना देखि ५९ महिना सम्मका १६७१ जना बालबालिकाहरूले पूर्ण खोप लगाइसकेको शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिस शाहले जानकारी गराएका छन् । त्यसै गरी जन्मेदेखि १५ महिनाका ५७८ बालबालिकाहरू हाल खोप लगाइरहेका शाहले भने । उनले पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै नगर भित्र १६ महिना देखि ५ वर्ष मुनिका खोप नलगाएका बालबालिकाहरू भेटिएको खबर स्वास्थ्य संस्थालाई जानकारी गराउने ब्याक्तीलाई रु ५ सय पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका छन् । कार्यक्रम समापनमा बोल्दै स्वास्थ्य र शिक्षाको क्षेत्रमा स्थानीय तहले छुट्याउनु पर्ने बजेट भन्दा बढी छुटाउँदै आइरहेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले बताए । उनले नगर भित्र स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रमा आफ्नो कार्यकाल भित्र नगरलाई नमुना बनाउने योजनामा अगाडि बढिरहेको बलायरले जानकारी गराएका छन् ।
नगरलाई सफल बनाउने सबैको आ- आफ्नो भूमिका हुन्छ त्यस कारण सबैले चिन्ताजनक भएर अगाडि बढ्नुपर्ने समेत उनले सुझाव दिएका छन् । पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा १ देखि ११ वटै वडा,स्वास्थ्य संस्थाहरूलाई सम्मान पत्र दिएको थियो भने शिखर नगरपालिकामा जन्मेका पहिलो डाक्टर डम्बर रावतलाई कार्यक्रममा सम्मान गरिएको थियो । उक्त पूर्ण खोप घोषणा कार्यक्रममा नगर प्रमुख,उप प्रमुख,समन्वय प्रमुख,जिल्ला स्वास्थ्य प्रमुख,कार्यपालिका सदस्य,वडा अध्यक्ष,महिला स्वास्थ्य स्वयंसेविका,नरपालिका शाखा प्रमुख,संघ संस्था प्रमुख तथा प्रतिनिधि,पत्रकारहरूको उपस्थिति रहेको थियो ।