

डोटी – सूचनाको हकका लागि राष्ट्रिय महासंघ डोटी शाखाको अध्यक्षमा पत्रकार सरिता कठायत चयन भएकी छन् । यसअघि राष्ट्रिय सञ्जालका रूपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रूपमा महासंघमा परिणत भएको हो । सञ्जालबाट महासंघमा परिणत भएपछि अधिवेशनबाट पत्रकार कठायत सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएकी हुन् ।
अधिवेशनले उपाध्यक्षमा विक्रम खड्का ,सचिवमा दीपेन्द्र खड्का , सहसचिवमा राज पार्की ,कोषाध्यक्षमा महेश ओझालाई चयन गरेको छ।
त्यस्तै सदस्यहरूमा इन्द्र शाही ,लक्ष्मी बिक, धन बोहरा र गणेश साउँदलाई चयन गरेको छ ।
यस्तै जिल्लाको सबै पालिकामा महासंघको पालिका स्तरीय संरचना बिस्तार गरिने जनाएको छ । यस्तै अधिवेशनले प्रदेश र केन्द्रीय प्रतिनिधि पनि मनोनीत गरेको छ । प्रदेश प्रतिनिधिमा चक्र कुँवर,खगेन्द्र सिंह ,गणेश मौनी र विक्रम खड्का तथा केन्द्रीय प्रतिनिधिमा प्रकाश बम, मोहन शाही र केशव चन्द्र महरालाई मनोनीत गरिएको हो ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले सूचनाको हकको अभियानलाई सार्थक तुल्याउन वडादेखि जिल्लासम्मको नेटवर्कमा जोडिएर काम गर्नुपर्ने बताए । सूचना माग गर्दा अहिले पनि सूचना दिन आनाकानी गर्ने माहोललाई न्यूनीकरण गर्ने अभियानमा लाग्न नवनिर्वाचित टिमलाई अनुरोध गरे ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रेस युनियन डोटीका अध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघ डोटी शाखाका संस्थापक प्रकाश बमले सर्वसाधारणमा सूचनाको हकको सहज पहुँच अहिले पनि नभएको बताए । सूचनामा सबैको पहुँच तथा सहज तरिकाले सूचना पाउने वातावरण सृजना गर्ने खालका कार्य गर्न अध्यक्ष बमले सुझाए।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ डोटीका संयोजक केशवचन्द्र महराको अध्यक्षतामा दिपायलमा कार्यक्रम सम्पन्न गरिएको हो।
