Sujang

बैतडीमा तातेको पन्यु चाट्ने ‘धुनी’जात्रा

बैतडी –जिल्लाको मेलौली नगरपालिका ५ महारुद्रमा शुक्रबार बुद्ध पूर्णिमाका दिन धुनी जात्रा सम्पन्न भएको छ । वैशाख शुक्ल नवमीमा सुरु भएको धुनीजात्रा बौद्ध पूर्णिमासम्म मनाइन्छ । यो जात्रामा धामीहरूले आगोमा तताएर रातो बनाएको फलामको पन्युलाई चाट्ने गर्दछन् ।

यो नै जात्राको मुख्य आकर्षण रहेको स्थानीय संस्कृतिका जानकार गोपालराम पोखरेलले बताए। उनले भने ‘देवीको शक्तिको रुपमा धामीहरूले तताएको पन्यु चाट्ने गर्दछन् । उनीहरूलाई केही पनि हुँदैन । तताएको पन्यु जिब्रोमा राखेर चाट्ने गर्दछन् । यो पहिलादेखिकै चलन हो।’

यो जात्रामा शितलादेवीको रुपमा भगवतीको पूजाआजा गरिने मेलौली नगरपालिका वडा नं ५ का स्थानीय बलभद्र दयालले बताए । उनले भने ‘धुनी जात्रामा सहभागी हुनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गर्दछन् । देवीको शक्तिले परापूर्वकालमा शितला रोग निको भएकाले शितलादेवीको पूजाआजा गर्ने गरिएको छ ।’

धुनीजात्रामा दलित, ब्राह्मण, क्षेत्री सबै समुदायका मानिस एकै ठाउँमा जमा भएर पूजाआजा गर्ने चलन रहेको दयालले बताए । उनले भने ‘समाजमा रहेको छुवाछुत हटाउन पनि यो जात्रा निकै सहयोगी बनेको छ । हामी सबै जातजातीका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गर्दछौं । जात्रामा सबै समान हिसाबले सहभागी बन्छौं । यो जात्रालाई सामाजिक सद्भावको जात्रा भन्दा पनि हुन्छ ।’

धुनीजात्रामा हरेक दिन भगवतीको विशेष पूजाआजा हुने गर्दछ । दमाहा बजाउने र धामी काप्ने तरीका नै यो जात्राका आकर्षण मानिन्छन् । धुनीजात्राको दर्शन तथा अवलोकनका लागि सैयौंको भीड लाग्छ । आगोको धुनी वरीपरी धामीहरू काँपेका दृश्य देखिन्छन् भने आगोमा तताएको पन्यु चाट्ने धामी हेर्नेहरूको समेत भीड लाग्ने गरेको छ ।

धुनीजात्रामा शीतलादेवीको पूजाआजा गरेमा रोगव्याधी नष्ट हुने जनविश्वास रही आएको छ । दयालले भने,‘यसको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटकहरूलाई भित्र्याउन सकिन्छ । दैवीशक्तिको शाश्वत उदाहरण पनि धुनी जात्रा हो । समान्य मानिसले तातो पन्यु जिब्रोमा राख्न सक्तैन । धामी काँपेर तातो पन्यु मजाले जिब्रोमा राख्ने गर्दछन् ।’

मेलौली नगरपालिकाको अन्य ठाउँमा भगवतीको पूजाआराधना गर्दै धुनी जात्रा मनाउने गरिएको स्थानीय सुरत पार्कीले बताए । धुनी जात्रालाई बिशेष जात्राको रुपमा लिने गरिएको उनले बताए ।

-सगुन खवर

Salmuni
Leave A Reply

Your email address will not be published.