इन्द्र शाही ,डोटी :‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुल नाराका साथ डोटीमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा मोफसलमा पत्रकारिता बिषयक अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय सदस्य मिन बमले दिवसको शुभकामना दिंदै यसै अवसरमा महासंघले चालेको पत्रकार शुद्धिकरण अभियानमा आजैदेखि सबैले लाग्नुपर्ने बताए । पत्रकारितालाई स्वच्छ, स्वस्थ र मर्यादित पेशा बनाउनका लागि हामी सबैको महत्वपूर्ण भूमिका हुनुपर्ने र डोटी शाखाले पनि शुद्धिकरण अभियानमा आजैदेखि लाग्नुपर्ने बमले बताए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले स्थानीय मिडिया प्रबर्द्धन मस्यौदालाई सबै स्थानीय तहमा लागू गर्न जोड दिनु पर्ने बताए । मौफसलमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिमा विशेष जोड दिनुपर्ने बताउदै प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए।
मोफसल पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघ डोटी शाखाले स्थानीय संचारमाध्यम प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८९ जारी गरेको महासंघका अध्यक्ष मोहन शाहीले बताए । कार्यक्रममा बोल्दै कार्यविधि कार्यान्वयनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने र महासंघमा आबद्ध सदस्यहरुको शुद्धिकरणका लागि समेत सबैको हातेमालो रहने बताए ।