डोटी : हेल्थ असिस्टेन्ट संघ डोटीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । हेल्थ असिस्टेन्टको सेवा सुविधामा एकरूपता ल्याउनु पर्ने र नियम संगत नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने माग राख्दै चार बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
हेल्थ असिस्टेन्ट संघ डोटीले आइतबार जिल्ला प्रशासन कार्यालय डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाएको हो ।
हेल्थ असिस्टेन्ट संघ डोटीका अध्यक्ष कुबेर खड्काद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा स्थानीय सरकार एवं सरोकारवाला निकायले सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि दबाबमा परेर पेसागत मर्यादा र पदीय जिम्मेवारीमा आँच आउने गरेर मनोमानी ढङ्गले नियुक्ति गर्ने गरेको उल्लेख छ । दरबन्दी संरचना तथा हेल्थ असिस्टेन्टको सेवा सुविधामा एकरूपता नभएको प्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
मनोमानी ढङ्गले स्थापित गरिएको दरबन्दी तथा सेवा सुविधाले जनताले पाउने गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित भएको ज्ञापन पत्र मार्फत उल्लेख गरिएको छ।
ज्ञापन पत्रमा भनिएको छ,´यसले शैक्षिक योग्यता, स्वास्थ्य सेवा ऐन नियमावली तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐनको अवमूल्यन हुने संघको ठहर छ। करार कर्मचारीको संरचना, दरबन्दी र सेवा सुविधा नियमानुसार नहुनु भनेको दीर्घकालीन समयसम्म स्वास्थ्य सेवालाई धराशायी बनाई नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने संवैधानिक मौलिक अधिकार समेत प्रभावित हुने देखिन्छ ।`
हेल्थ असिस्टेन्ट स्वास्थ्य सेवाको महत्त्वपूर्ण र संवेदनशील जग भएको उल्लेख गर्दै पाँचौँ तहका कर्मचारी नियुक्त गर्दा तथा सेवा सुविधा दिँदा नियमसंगत गर्न माग गरिएको छ । आफ्ना मागहरू पूरा नभए संघ आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । संघले जिल्ला अस्पतालमा समेत नियम विपरीत स्वास्थ्यकर्मी भर्ना गरिएको जनाउँदै विरोध छानबिन गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले तत्काल नियम अनुसार कार्यान्वयन गर्न जोड दिने बताए । मागका बारेमा बुझेर जुन जुन ठाउँमा नियम विपरीत भएको छ सबैलाई पत्राचार गरेर कार्यान्वयन गर्न पहल गर्ने बताए ।
यस्ता छन् हेल्थ असिस्टेन्ट संघका मागहरू
१) करार नियमावली २०७७ अनुसार कर्मचारी नियुक्त गर्ने र पालिका र नगरपालिकामा कार्यरत करार कर्मचारीलाई रिक्त दरबन्दी सिटमा पद स्थापना गर्नुपर्ने ।
२) जिल्लाका सम्पूर्ण पालिकामा कार्यरत हेल्थ असिस्टेन्ट पाँचौँ तहको सेवा सुविधामा एकरूपता हुनुपर्ने ।
३) जिल्लास्थरमा सञ्चालित प्राइभेट अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट कर्मचारीको तलब नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनुरूप हुनुपर्ने ।
४) जिल्ला अस्पतालमा वैकल्पिक करार कर्मचारी नराखी मापदण्ड विपरीत नयाँ कर्मचारी नियुक्त गरिएकोमा त्यसको छानबिन र वैकल्पिक उम्मेदवारलाई सिफारिस गरिनुपर्ने ।