Sujang

नव वर्षको अवसरमा अत्तरियामा साङ्गीतिक उत्सव

अत्तरिया: नयाँ वर्षको अवसरमा कैलालीको अत्तरिया बसपार्कमा शुक्रवार साङ्गीतिक उत्सव मनाइएको छ।
अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियो र जन्मथली मञ्च सुदूरपश्चिमले संयुक्त रूपमा नव वर्ष साङ्गीतिक उत्सव २०८० आयोजना गरेका हुन। प्रदेशका विभिन्न कला संस्कृतिहरूको पहिचान गरी उनीहरूको जर्गेना गर्ने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको जन्मथली मञ्च सुदूरपश्चिमका अध्यक्ष चक्र बमले  बताए।
केही समय अगाडी मात्रै औपचारिक रूपमा दर्ता भएको जन्मथली मञ्चको स्थानियस्तरसम्म पुग्ने बाटोको रूपमा पनि कार्यक्रमलाई लिइएको उनले बताए।
‘विविधतामा एकता हाम्रो पहिचान, स्थानीय कला र संस्कृति हाम्रो शान’ नारा बोकेको मञ्च आफूहरूले स्वतःस्फूर्त रूपमा गठन गरेको अध्यक्ष बमले बताए। ‘मैले लामो समय देखि गीत गाए पनि मैले समाजका लागि त केही पनि गरेको रहेनछु भन्ने लाग्यो । केहीले देउडालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा चिनाए भने, केहीले मलाई देउडा गीत विगाडे भने’ उनले भने ‘म अहिले जे जसरी भएपनि देउडा गाएरै काठमाण्डौमा बसेर सर्भाइव गर्ने भएको छु । त्यसैले म अब यही देउडा, कला, संस्कृति, भाषा र जन्म थलीलाई केही योगदान दिने समय आएको छ । त्यसका लागि मञ्चको गठन  गरेर आज पहिलो कार्यक्रम गरेका हौँ  ।’ संस्थाद्वारा आगामी दिनमा स्थानीय कला संस्कृति जगेर्ना , लुकेर बसेका डेउडा प्रतिभाको खोजी गरेर स्थानीय स्तरमा समेत कार्यक्रमलाई गर्ने उनले बताए ।
लामो समयदेखि कला संस्कृतिलाई नृत्यका माध्यमबाट उजागर गरिरहेको क्युरिक्सका लागी पनि यहाँको भेसभुसा, भाषा, संस्कार र संस्कृतिलाई अझै बढी फैलाउने अवसर रहेको क्युरिक्स डान्स स्टुडियोका सञ्चालक हरिस विक्रम खडायतले बताए।
उनले नयाँ वर्षमा नयाँ हर्षोल्लास, खुसी र शान्ति फैलाउन र शुभकामना आदान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा स्थानीय कलाकारहरूका साथै राष्ट्रिय स्तरका कलाकारहरूले समेत प्रस्तुति राखेका थिए।
उक्त साङ्गीतिक महोत्सवमा चर्चित गायक तथा मोडेल चक्र बम, सुरेश चोखाल लगायतकाले साङ्गीतिक प्रस्तुति राखेका थिए। साथै नृत्य कलाकार तथा निर्देशक हरिस विक्रम खडायत, विशाल ओझा लगायत क्युरिक्स डान्स स्टुडियोका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।
जन्मथली मञ्च सुदूरपश्चिम अध्यक्ष बमको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगर पालिकाका उप प्रमुख शारदा देवी रोकाय रहनु भएको थियो । कार्यक्रममा सहयोग गर्नेहरूलाई सम्मान पत्र ,मायाको चिनो समेत प्रदान गरिएको गोबिन्द पनेरूले बताए ।
नयाँ वर्षको अवसरमा गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक केपी कलौनीले गरेका थिए।
Salmuni
Leave A Reply

Your email address will not be published.