

गणेश मौनी: डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई सुदूरपश्चिम प्रदेशको पहिलो बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका ७ सय ३४ वडा मध्य दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ लाई पहिलो वडाको रुपमा बुधबार एक कार्यक्रमको बिच बालश्रम मुक्त वडा घोषणा गरेको हो ।
बालश्रम मुक्त वडा घोषणा कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले सुदूरपश्चिम प्रदेशको लागि नमुना कामको सुरुवात भएको बताएका छन् ।
उनले भने “बालबालिकालाई कसैले पनि घर पसलमा काम गराएर बन्दी जीवन बिताउन बाध्य गराउन हुँदैन ।” बालश्रम मुक्त अभियानले बालबालिकाले मुक्ति पाउने भएकाले यस अभियानलाई जिल्लाका अन्य पालिकाहरुले पनि अघि बढाउनु पर्ने समेत बताए ।
नगरपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्न वडाबाट अभियानको सुरुवात गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिं खड्काले बताए । उनले भने ‘बालबालिकाहरुलाई पढ्ने लेख्ने बातावरणको सृजना गर्न अभिभाकका लागि नगरपालिकाले आय आर्जनका क्रियाकलाप सञ्चालन गर्ने सोच वनाएको छ ।’ बालश्रम मुक्त वडा घोषणा अभियानलाई सबै वडाहरुमा कार्यान्वय गर्ने समेत नगरप्रमुख खड्काले बताए ।
सामाजिक परिवर्तनको क्षेत्र भौतिक विकासको जस्तो नभएको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती साउँदले बताईन् ।
बालश्रम सामाजिक अपराध भएकोले कसैले पनि बालश्रम लगाउन नमिल्ने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । उनले भनिन् ‘बालश्रम कसैले पनि लगाउन मिल्दैन, यदि कसैले लगाएको भेटिए कानुन बमोजिम कारबाही हुन्छ ।’
बालश्रमलाई अन्त्य गर्न सबैको साझा पहल आवश्यक रहेको समेत प्रजिअ श्रेष्ठले बताईन् ।
दिपायल सिलगढी नगरपालिकालाई सन २०८० सम्म बालश्रम पालिका घोषणा गर्ने लक्ष्य रहेको सामाजिक बिकास अधिकृत रमेश चन्द्र जोशीले बताए । उनले भने ‘नेपाल सरकारको राष्ट्रिय लक्ष्य अनुरुप २०८२ सम्म नेपाललाई बालश्रम मुक्त देश घोषणा गर्ने रहेको छ, सोही अनुरुप हामीले आगामी आर्थिक बर्षभित्र पालिकालाई बालश्रममुक्त पालिका घोणणा गर्छौं ।’
वडा नं. ५ मा रहेका ६ जना श्रमिक बालबालिकाहरुलाई नगरपालिकाले खर्च व्यहोर्ने गरी आवाशीय बिद्यालयमा भर्ना गराएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बालश्रममुक्त वडा घोषणा कार्यलाई दिगो ब्यवस्थापन गरि निरन्तरता दिन आवश्यक रहेको बताएका थिए ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, स्थानीयको सभागिता रहेको थियो । कार्यक्रममा स्थानीय कला समेत प्रस्तुत गरिएका थिए ।
