Sujang

डोटीमा डेंगुका बिरामी २७ पुगे

केबि सिंह,भदौ,२८ -डोटीमा २७ जना डेंगुका बिरामी फेला परेका छन् । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग डोटीमा पहिलो पटक भदौ १३ गते फेला परेको थियो ।

अहिले जिल्लामा दिन प्रतिदिन डेंगुका बिरामीको संख्या बढ्दै गईरहेको जिल्ला अस्पतालले जनाएको छ । १६ दिनमै डेंगुका बिरामीको संख्या २७ पुगेको जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टले बताए ।

उनका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ जना, २० गते ४ जना, २१ गते २ जना, २४ गते ३ जना, २५ गते २ जना, २६ गते ४ जना, २७ गते २ र २८ गते ४ जनामा डेंगुका संक्रमित फेला परेका हुन् । ति मध्य २३ जना जिल्ला अस्पतालबाट फेला परेका हुन भने ४ जना शिखर नगरपालिकाको स्वास्थ्य केन्द्रबाट पत्ता लागेको भट्टले जानकारी दिएका छन् ।

डेंगुका संक्रमित मध्ये १२ जना पुरुष र १५ जना महिला रहेका छन् । दिपायल सिलगढी नगरपालिकाका ११ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र के.आई.सिंह गाउँपालिकाका एक जनामा डेंगु फेला परेको अस्पतालले जनाएको छ ।

एडिस एजिप्टाइ र एडिस एल्विकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए । भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धती विकास नभएको भए पनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहले बताए ।

जिल्लामा डेंगुका बिरामीको संख्यामा बृद्धि हुँदै गइरहेकाले यसको नियन्त्रका लागि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए । उनले आफ्नो घरआगनका खाल्डाखुल्डी, पानी जम्ने स्थान पुर्नका साथै सरसफाइलाई बिशेष जोड दिन सबैमा आग्रह गरे ।

Salmuni
Leave A Reply

Your email address will not be published.