

बन्दना बम :डोटीको शिखर नगरपालिका वडा नम्बर १ कफल्लेकी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनमा आएको छ ।
शनिवार एक कार्यक्रमका बिच प्रयोगशालाको उद्घाटन गरिएको हो ।
वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन आएको प्रयोगशालाको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले उद्घाटन गरेका हुन् ।
प्रयोगशालाको उद्घाटन गर्दै समन्वय प्रमुख सिंहले मानव जीवनमा स्वास्थ्य क्षेत्रको महत्त्व सबैभन्दा बढी रहेकाले ल्याब स्थापनाले स्थानीयलाई ठुलो सहुलियत हुने बताए । ‘ल्याब स्थापनाले स्थानीयले बाहिर जान नपर्ने भएको छ’, सिंहले भने, ‘स्वास्थ्यमा समस्या आइ बाहिर जाँदा खर्च समेत ठुलो हुने भएकाले आर्थिक रूपमा समेत यसले सहुलियत हुनेछ ।’
हामीले स्वास्थ्य, शिक्षा, कृषि र यातायातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सिंहले बताए ।
आफू निर्वाचित भएदेखि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको र फलस्वरूप ल्याब स्थापना गर्न सफल भएको वडा अध्यक्ष दीपकबहादुर बोगटीले बताए । वडा कार्यालयबाट ५ लाख बराबरको ल्याब सामग्री खरिद र ३ लाख बराबरको प्रयोगशाला कक्ष मर्मत गरिएको अध्यक्ष बोगटीले बताए ।
‘स्वास्थ्य निर्देशनालय राजपुर र स्वास्थ्य कार्यालय डोटीको सहयोगबाट प्रयोगशालामा प्रयोग हुने सामग्रीहरूको सहयोग भएको र सबैको सहयोगबाट सेवा सञ्चालनमा ल्याउन सफल भएका छौँ’, स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष एवं वडा अध्यक्ष बोगटीले भने, ‘ल्याब स्थापनाबाट वडा बासी सबैलाई सहज हुनेछ ।’
प्रयोगशालाबाट रगत चेकजाँच, विभिन्न किसिमका भाइरल टेस्ट, दिसा पिसाब चेकजाँच, मलेरिया, युरिक एसिड, सुगर, लिपिट प्रोफाइल, कोल्डस्टोर, क्षयरोग जाँच लगायतको चेकजाँच हुने ल्याब इन्चार्ज माधव जोशीले जानकारी दिए ।
प्रयोगशालाबाट करिब २०/२१ प्रकारको चेकजाँच हुने बताइएको छ ।
