गणेश मौनी, सिलगढी :डोटीमा मौलिक कला संस्कृतिको संरक्षण, संवर्धन तथा प्रचार प्रसार गर्नको लागि बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सुदूरपश्चिम कला केन्द्र डोटीले डोटी सिलगढी स्थित इन्द्रचोकमा शनिवार बृहत् सास्कृतीक कार्यक्रमको आयोजना गरेको हो ।
मौलिक कला संस्कृतिको संरक्षण तथा सर्वधन गर्नु आम नागरिकको दायित्व रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खड्काले डोटीमा थुप्रै इतिहास बोकेका पर्यटकीय, धार्मिक एवं ऐतिहासिक स्थलहरू रहेका छन् तिनीहरूको संरक्षण गर्न स्थानीय सरकार पछि नहट्ने समेत बताएका थिए ।
लोप हुन लागेको डोटेली कला संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा हस्तान्तरण हुन सहयोग पुगोस् भन्ने हेतुले बृहत् सास्कृतीक कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम कला केन्द्र डोटीका अध्यक्ष प्रीन्स नेपालीले बताए ।
सास्कृतीक कार्यक्रममा स्थानीय मौलिक संस्कृति झल्किने खालका हुड्केली, नेवार समुदायको लाखे नाच, पुतला नाच, डेउडा खेल, भुवा खेलहरू प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी, गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बासी, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन सञ्चारकर्मि रश्मि कुँवरले गरेकी थिइन् ।