

दिपायल :नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मंगलदेखि डोटीको दिपायलमा न्यु मिडिया सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका ३५ जना पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा सञ्चार माध्यममा भइरहेका नयाँ प्रयोग, प्रविधिको प्रयोगबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो ।
उक्त कार्यक्रम उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश निरौलाले देशको परिवर्तनमा सञ्चार माध्यमको भूमिका अहम् भएका कारण संविधानमै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको बताए ।
‘आजको युगमा सूचना नै शक्ति हो, जोसँग सूचना छ, त्यो बलियो छ’ न्यायाधीश निरौलाले भने ‘देश परिवर्तनमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका भएकाले नै हाम्रो संविधानमा पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गरिएको हो ।’
निरौलाले सही सूचना जनतासम्म पुर्याउन पत्रकारहरू जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । उनले भने ‘दिपायलस्थित उच्च अदालतले नेपालमै पहिलो पटक भर्चुअल बकपत्रको व्यवस्था गरेका छौँ, यो प्रविधिसँग न्यायालय जोड्ने प्रयास हो ।’
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको पत्रकार क्षमता विकास कार्यक्रम अन्तर्गत दुई दिने न्यु मिडिया सम्बन्धी प्रशिक्षणमा उज्ज्वल आचार्य र मनमोहन स्वाँरले प्रशिक्षक रहेका रुपमा रहेका छन् ।
महासंघले सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा सञ्चालन गरेको कार्यक्रमको सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका हुन् भने स्वागत नेपाल पत्रकार महासंघ डोटी शाखा अध्यक्ष मोहन शाहीले गरेका हुन् ।
