गणेश मौनी ,डोटी :दाचुर्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले सार्वजनिक सेवालाई चुस्त, दुरुस्त,सरल र सहज बनाउन प्रतिबद्ध रहेको बताएकी छन् ।
बिहीबार देखि दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी प्रजिअ जोशीले आफ्नो पहिलो प्राथमिकता नै आम नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याई सेवालाई चुस्त, दुरुस्त सहज बनाउने रहेको बताएकी हुन् ।
सुदूरपश्मिबाट पहिलो महिला सिडिओ बन्न सफल भई आफ्नै क्षेत्रमा सेवा गर्न आउन पाउँदा आफू भाग्यमानी भएको बताइन् । उनले भनिन्,´मेरो प्रमुख प्राथमिकता नै सेवालाई नागरिकमैत्री गुणस्तरीय बनाउनु हो । अन्य जिल्लाका समसामयिक सवालहरूमा जिल्लाका सरोकारवाला निकायहरू सँग समन्वय सहकार्य गरेर अगाडी बढ्ने छु।`
सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी जोशी २०६१ सालमा खरिदारबाट निजामती सेवा प्रवेश गरेकी थिइन् ।पहिलो पोस्टिङ जिल्ला शिक्षा कार्यालय बैतडीमा भएको थियो । जोशीले २०६२ सालमा नायब सुब्बा, २०६७ सालमा अधिकृत र २०७७ सालमा उपसचिवमा नाम नाम निकालेकी थिइन् ।
गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो ।