गणेश मौनी :डोटीमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगरप्रहरीहरुलाई आपतकालिन उपचार विधि सम्बन्धी दुई दिने तालिम दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम नेपालले सिलगढीमा तालिमको आयोजना गरेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।
जिल्लामा अग्रपङ्क्तिमा रही काम गर्ने क्षेत्रका व्यक्तिलाई कुनै पनि व्यक्ति आपतकालिन अवस्थामा रहे स्वास्थ्य संस्थामा पुर्याउनु भन्दा पहिले गर्न सकिने प्राथमिक उपचार सम्बन्धी विभिन्न विधिहरूको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरेको समेत प्रजिअ श्रेष्ठले बताइन् ।
तालिममा आकस्मिक आपतकालिन अवस्थामा गरिने प्राथमिक उपचारका बारेमा बृहत् रूपमा छलफल गरिएको तालिमका सहजकर्ता ब्राउन युनिभर्सिटी संयुक्त राज्य अमेरिकाका सहायक प्रोफेसर इमर्जेन्सी रुमका डा.रामु खरेलले बताए । उनले भने मानव सुरक्षाको अग्रपङ्क्तिमा रहेका विशेष गरी सुरक्षाकर्मिहरुलाई प्राथमिक उपचारको बारेमा जानकारी गराउँदा मानव जिवनरक्षाका लागि थप सहजता हुने समेत बताए ।
तालिममा ग्रान्डि ईन्टरनेस्नल हस्पिटल काठमाण्डौका आपतकालीन चिकित्सक प्रमुख डा.कमल थापाले पनि सहजीकरण गरेका थिए । कार्यक्रममा बयलपाटा अस्पतालका निर्देशक डा. मन्दिप पाठक, शिक्षण अस्पालका काठमाण्डौका डा.राजेश पोखरेल लगायतका विशेषज्ञ टोलीको समेत सहभागिता रहेको थियो ।
मंगलबार सम्पन्न भएको दुई दिने तालिमको संयोजन राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका जिल्ला संयोजक केशव बलायरले गरेका थिए भने तालिममा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ, नगर प्रहरी, स्वास्थ्यकर्मी गरी ९९ जनाको सहभागिता रहेको थियो ।