
गणेश मौनी :डोटीमा ३ हजार ९ सय ९१ जना बालबालिकाहरूलाई खुत्रुके वितरण गरिएको छ ।
समान पहुँच विकास केन्द्र (सिड नेपाल) र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत डोटीको आदर्श गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा रहेका ३ हजार ९ सय ९१ जना बालबालिकालाई खुत्रुके वितरण गरिएको हो ।
बालबालिकामा बचत गर्ने बानीको विकास गर्नुका साथै बालबालिकाहरूले आफूले पाएको रकम खुत्रुके मार्फत जम्मा गरी भविष्यमा आफूलाई आवश्यक परेको बेला प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले बालबालिकाहरूलाई खुत्रुके वितरण गरिएको सिड नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक सुनिल जोशीले बताए ।
बालबालिकाहरूलाई खुत्रुके वितरण गरिनुका साथै अविभावकहरूलाई बाल बचत, खुत्रुके र टुक्रे बचत, बाल बचतको प्रक्रिया, खुत्रुके बाल बचतको कार्यान्वयन बाल बचतको दिगोपना सम्बन्धी अभिमुखीकरण गरिएको समेत संयोजक जोशीले बताए ।
बालबालिकाहरूलाई खुत्रुकेमा बचत गर्ने बानीको विकास गराउँदा भविष्यमा आउने आर्थिक संकटलाई सहयोग पुग्ने आदर्श गाउँपालिका वडा नम्बर ४ का वडा सचिव गणेश ओझाले बताए ।
समान पहुँच विकास केन्द्रले बालबालिकारुलाई प्रत्यक्ष रूपमा संलग्न गरी कार्यक्रम गर्दा स्थानीय सरकारलाई पूर्ण रूपमा सहयोग पुगेको दिपायल सिलगढी नगरपालिका नगर उप -प्रमुख कलावती महर साउँदले बताईन् । समान पहुँच विकास केन्द्रलाई आवश्यक सहयोग गर्न तयार रहेको समेत नगर उप प्रमुख साउँदले बताईन् ।
समान पहुँच विकास केन्द्र (सिड नेपाल)ले वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत डोटीको आदर्श, सायल, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका अन्तरगत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।