

दिपायल :डाेटीकाे दिपायल सिलगढी नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
“लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मूल नाराका साथ बुधवार दिपायल एर्पाेट बजारमा र्याली ,बाजागाजा सहित नगरपालिकाको वडा न ३ स्थित दिल्पेश्वर मठ नजिक खेलमैदानमा औपचारिक कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा नगर स्तरीय सन्देशमूलक डेउडा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नगरका सम्पूर्ण वडाका महिलाहरूले आ-आफ्नो वडाबाट भेसभुसामा पहिरन सहित सन्देश मूलक डेउडा गीत गाएर डेउडा खेलेका थिए ।
डेउडा कार्यक्रममा भागलिने १ देखि ९ वडाका प्रत्येक टिमलाई प्रमाणपत्र सहित जनही नगत दस हजार पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
जिल्लामा रहेका विभिन्न सहयोगी संघ संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समाजलाई अगाडि बढाउन समाजमा रहेका कुसंस्कार हटाइ महिलालाई अगाडि बढाउन नगर सरकारले विशेष भूमिका खेल्ने दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिंह खड्काले बताए । ![]()

दिवसले महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने प्रमुख खड्काले बताए ।
समाजमा रहेका लैङ्गिक हिंसा,बालविवाह,बहुविवाह, महिला हिंसा लगायतका विभिन्न घटनाहरूको अन्त्य गर्न सबै निकायले भूमिका खेल्नु पर्ने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।
महिलाहरूले आफ्ना भावना, वेदनाहरूलाई देउडा गीत मार्फत प्रस्तुत गरेको भन्दै दिपायल सिलगढी नगरपालिका नगर उप- प्रमुख कल्पना महर साउँदले सम्पूर्ण महिलाहरूलाई धन्यवाद ज्ञापन साथ शुभकामना दिइन्। उनले भनिन्,´आगामी दिनमा महिलाहरुको हक ,अधिकार , क्षमता अभिवृद्धि , आयआर्जनका कार्यक्रममा विशेष जोड दिनेछौँ ।`

कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि ,राजनीति दल ,स्थानीय कलाकार ,पत्रकार, नागरिक समाज , महिला समूह, महिला अधिकारकर्मी लगायत स्थानीयको उल्लेख उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन रेडियोकर्मी रश्मि कुँवरले गरेकी थिइन् ।

