Sujang

मुक्त हलियालाई आरन सामाग्री बनाउने सिप विकास तालिम 

भक्तराज उपाध्याय, सिलगढी :डोटीमा मुक्त हलिया परिवारलाई आरन सामाग्री बनाउने सिप विकास तालिम दिइएको छ।
जिल्लाको  जोरायल गाउँपालिका- २, बुडरमा अति विपन्न तथा कमजोर  मुक्त हलिया परिवारलाई सिप विकास तालीम दिइएको हो।
घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटी, इ एल सि ए र लुथरन विश्व फेडरेसन नेपालको आर्थिक सहयोग तथा उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च  डोटीको आयोजनामा सञ्चालित ४५ दिने सिप विकास तालिमको आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
डेढ महिनाको तालीमका सहभागीहरूले हसिया, हतौडा, खुँडा, दाउँ, चुलेसी, खुकुरी, कोइता, बाउसा, कुटा, कोदाली, फलामको कराई, सिल्भरका भाँडाकुँडा, तामाका ताउली, बस्तु भाउका घाणाँ बनाउने सिप सिकेका छन्  ।
तालिमको समापन सत्रमा बोल्दै सहभागी प्रदीप विकले सिप त सिक्यौँ अब व्यवसाय सञ्चालनका लागि वेल्डिङ्ग मेसिनका साथै आरन घरको छाना छाउनमा सहयोग गरिदिन आग्रह गरे।
गजेन्द्र विकले ४५ दिन सम्म फलाम, तामा, सिल्भर र पित्तलका सामान बनाउने सिप सिकाएका थिए । सहभागीहरूलाई सिप विकास तालिमको प्रमाण पत्र समेत प्रदान गरिएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै  घरेलु तथा साना उद्योग कार्यालय राजपुर डोटीका प्रमुख दीपेन्द्र शाहले गत वर्ष २० जनालाई सिलाई कटाई तालिम प्रदान गरेको बताउँदै यस वर्ष १० जनालाई आरनको सामान बनाउने सिप सिकेकाले आगामी दिनमा व्यवसायलाई निरन्तरता दिई व्यवसाय बन्नुपर्नेमा जोड दिए ।
स्थानीय श्रोत साधन र सिपको प्रयोग गरी आत्मनिर्भर बन्न यस तालिमले सहयोग गरेको उनले बताए ।
उनले भने,´ तालिमको सिप सिकेर मात्र हुँदैन । व्यवहारमा समेत ल्याएर सफल उद्यमी बने आगामी दिनमा समेत कार्यालयले थप सहयोग गर्ने छौँ ।´
जोरायल गाउँपालिका -२ का वडा अध्यक्ष वीर बहादुर दर्लामीले अनुदान खाने तर उद्यमी नबने पछिल्लो पिढिं समेत पछि पर्ने बताए ।
उनले भने,´धान नफल्ने ठाउँमा तटबन्धन गर्ने।मान्छे नभएको ठाउँमा रोड काट्ने जस्ता प्रचलनको अन्त्य गर्नु पर्छ। श्रोतको लेखाजोखा गरी लगानीको सही सदुपयोग गर्नु पर्दछ।`
नेपाल सरकारको लगानी सदुपयोग नभएको पाइएमा आगामी दिनहरूमा वडा कार्यालयले कुनै पनि अनुदानमा सहयोग नगर्ने उनले बताए । अनुदानको सही सदुपयोग गरेमा आगामी दिनहरूमा वडाले समेत आवश्यक सहयोग गर्ने बताए  ।
यु.एस.एस.वि.एम. डोटीका अध्यक्ष टिका सीँ नेपालीले सहभागी आरन व्यवसायी, घरेलु तथा साना उद्योग विकास कार्यालय, वडा कार्यालय र दातृ निकायलाई कार्यक्रम सञ्चालनमा भएको सहयोगका लागि धन्यवाद दिँदै व्यवसायलाई आगामी दिनहरूमा निरन्तरता दिई आर्थिक अवस्थामा सुधार भएको देख्न पाईयोस भने ।
 यु.एस.एस.वि.एम. डोटीले डोटी जिल्लामा मुक्त हलियालाई लक्षित गरेर आयआर्जनका क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
१० जना मुक्त हलियाहरुलाई ४५ दिन सम्म सञ्चालन भएको तालिममा  घरेलु तथा साना उद्योग विकास कार्यालय राजपुर डोटीले प्रशिक्षक खर्च, कच्चा पदार्थमा सहयोग गरेको थियो भने यु. एस. एस. वि. एम. ले पङ्खा, लेई, घन, हतौडा, सणेसो, ग्राउन्ड मेसिन, ग्राउन्ड पाता, बासुँला, पलाश, पेच कस, स्वाग, पित्तल, फलाम, चाँदी, तामाको तार, काठे रेत, दाँते आरी, फलाम चम्काउने मसिन लगायतका करिब २६ हजार २ सय साठी बराबरका सामानहरू १० जना उद्यमीलाई सहयोग गरिएको संस्थाका जीविकोपार्जन सहजकर्ता गणेश बहादुर कोलीले बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.