
डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ ।
गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिए ।
सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडा देखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सोमबार बस छिडिखान पुर्याइएको हो ।
बस छिडिखान पुगेपछि स्थानीयहरूले खुसी व्यक्त गर्दै चालक तथा सहचालकलाइ फुलमाले स्वागत गरेका थिए ।

बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा सडक सरसफाइ र मोड चौडा बनाउने कार्यको गरिएको हो ।
नियमित बस सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाले बताए । उनले भने ,´छिट्टै नै गाउँपालिका केन्द्र चवराचौतारासम्म बस पुर्याउने योजनामा छौ ।`
बस सेवा सञ्चालनमा ल्याए सँगै यस क्षेत्रका महँगो गाडी भाडा तिरेर जिपमा कष्टकर यात्रा गरिरहेका यात्रुका लागि निक्कै सहज हुने गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बमले बताइन् ।