Sujang

डोटीमा द्वन्द्व पीडितका कथा बोकेका तस्वीर प्रर्दशनी

प्रकाश बम,भदौ २५ गते सिलगढी -नेपालमा भएको दश वर्षे सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका थुप्रै सर्वसाधारणहरुका तस्बिर र उनीहरुका कथाका सारांश डोटीको सिलगढीमा प्रदर्शनी गरिएको छ।

शनिबार शैलेश्वरी मन्दिरको प्राङ्गणमा अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा तत्कालीन युद्धका कारण पीडा भोग्न बाध्य सर्वसाधारणको तस्बिर तथा कथा प्रदर्शनीमा राखिएको हो।

प्रर्दशनिमा घाईते भएपछि उनीहरूले अहिले भोगिरहेका समस्या, राज्यप्रति उनीहरुका गुनासो, घटनाको विवरण समेटेर बनाईएको कथाको सारांश तस्बिरको दायाँ, बायाँ वा तल, माथि नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका थिए ।

तस्बिर अवलोकन गर्न आउनेलाई उनीहरुको कथा अडियोमा सुन्ने व्यवस्था पनि गरिएको छ। जसका लागि एउटा तस्बिरमा चार वटा हेडफोन जोडिएका थिए ।

मर्मस्पर्शी तस्बिर र तस्बिरमा भएका पीडितको कथा प्रदर्शनीको मक्सद भनेको अबको दिनमा हिंशात्मक द्वन्द्व नहोस्, उतिबेलाको सशस्त्र द्वन्द्वका कारण पीडा भोगेका सर्वसाधारणले न्याय पाओस् भन्ने उदेश्यले निशुल्क फाेटाे पर्दशनी गरिएको द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए ।

‘त्यो बेलामा कुनै पक्षबीच भएको आपसी द्वन्द्वका कारण हामी जस्ता सर्वसाधारणहरु पीडा भोगिरहेका छौं, त्यो कुरा अहिलेको पछिल्लो पुस्ताले जानोस् र भोलि हुन सक्ने यस्ता पीडादायी युद्धलाई अस्वीकार गर्ने भावना जागोस् भन्ने हो,’ अपांगता भएका द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष खत्रीले भने, ‘यसरी पीडा भोगेका सर्वसाधारणको घटनाको बारेमा सत्यतथ्य छानबिन गरी सरकारले चाँडै न्याय देओस् भन्ने माग पनि हो।’

उनले थपे,´अहिले सञ्जालले कुनै पक्षमा नलागे पनि द्वन्द्वबाट पीडित बनेका सर्वसाधारणका ३०० जनाका तस्बिर र कथा तयार पारेको छ।
विभिन्न जिल्लामा रहेका द्वन्द्व पीडितको कथा संकलन गर्दैछौं ।राज्यले पीडितलाई न्याय दिलाउने कानुन बनाउन आवश्यक छ।´
देशभरिका १४ जनाको १४ कथाबाट शुरु गरिएको यात्रामा अहिले ४ सय जना जोडिएको उनले बताए ।      सुर्खेतबाट शुरु गरिएको निशुल्क फोटाे प्रर्दशनी यात्रा कालिकोट ,अछाम ,डोटी , डडेल्धुरा ,कञ्चनपुर हुदै कैलाली जिल्लामा गएर सम्पन्न हुने उनले बताए ।   

Salmuni
Leave A Reply

Your email address will not be published.