Sujang

गेटा आँखा अस्पतालका कर्मचारीमाथि व्यवस्थापन सल्लाहकारले दुर्व्यवहार गरेको आरोप

पुष्पराज जोशी -नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गेटा आँखा अस्पतालका कर्मचारी माथि व्यवस्थापन सल्लाहकारले दुर्व्यवहार गरोको आरोप लागेको छ।

आफूहरूलाई कार्यालय समयमा पटक–पटक गाली गलौच गर्ने तथा काम गरिरहेको समयमा पनि अनावश्यक रूपमा व्यवस्थापन सल्लाहकारले स्पष्टीकरण सोध्ने गरेका कारण प्रशासकीय कर्मचारी तथा चिकित्सकीय कर्मचारीलाई मानसिक यातना दिने गरेको आरोप पीडित कर्मचारीहरूले लगाएका हुन्।

नेपाल नेत्र ज्योति संघको प्रशासनिक नियमावलीको दफा १४ अनुसार चिफ मेडिकल डाइरेक्टर पद रहेको गेटा आँखा अस्पतालमा उनको मुनि नयाँ पद स्थापना गरी व्यवस्थापन सल्लाहकारका रूपमा दीर्घ बहादुर चन्दलाई खटाइएको छ। उनी चन्द व्यवस्थापन सल्लाहकार भएर गत कात्तिकदेखि गेटा आँखा अस्पतालमा हाजिर भएका हुन्।

उनी आएदेखि कर्मचारीलाई अनावश्यक विवादमा ल्याउने तथा मानसिक यातना दिने गरेको आरोप लागेको हाे। नाम उल्लेख नगर्ने सर्तमा एक पीडित कर्मचारीले भने, ‘गेटा आँखा अस्पतालका कर्मचारीलाई खटाउने तथा गलत काम गर्ने कर्मचारीलाई हेर्ने भनेकै चिफ मेडिकल डाइरेक्टर हुन्। तर, उहाँको अधिकारमाथि हस्तक्षेप गर्दै व्यवस्थापन सल्लाहकार चन्दले प्रशासकीय कर्मचारी तथा चिकित्सकीय कर्मचारीलाई अनावश्यक स्पष्टीकरण सोध्ने, एउटै कुरालाई मौखिक तथा लिखित रूपमा पटक–पटक धम्की दिँदै स्पष्टीकरण माग्ने गरेका छन्।’ पीडित कर्मचारीले भने, ‘यहाँ कार्यरत धेरै कर्मचारीलाई ‘तँ’ शब्द प्रयोग गर्दै धम्क्याउने गरेका छन्।’

उनी आएदेखि विधान विपरीत आफूखुसी नियम बनाएर संस्थालाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै ती पीडित कर्मचारीले भने,‘चन्द नेपाली सेनाको पूर्व कर्मचारी हुन्। आँखा अस्पतालमा पनि प्राविधिक र गैर प्राविधिक कर्मचारीको आफ्नै किसिमको नियम भए पनि शैन्य नियम लागू गर्दै प्राविधिक कर्मचारी र गैर प्राविधिक कर्मचारीलाई डर त्रास दिने गरेका छन्।’ आफूहरू केही महिनादेखि व्यवस्थापन सल्लाहकारको डर त्रासका कारण मानसिक रूपमा कार्यालयमा काम गर्न गाह्रो भइरहेको पीडित कर्मचारहरु बताउँछन्।

व्यवस्थापन सल्लाहकार चन्द भने आफूले कर्मचारीलाई अनुशासित बनाउन खोजेको बताएका छन्। उनले भने, ‘कर्मचारीले कार्यालय पोशाक लगाउनु पर्ने, परिचय पत्र बोक्नुपर्ने तथा कार्यालय खुल्ने समय ९ बजे नै आउनु पर्ने नियम बनाएको हुँ।’

नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक शैलेश कुमार मिश्राले व्यवस्थापन सल्लाहकार चन्दलाई केन्द्रीय कार्य समितिले केही समयका लागि व्यवस्थापन सुधारका लागि पठाएको बताउँदै उनले भने, ‘यस विषयमा भने गेटा आँखा अस्पतालमा म बुझ्छु।’ उनले यो अलि गम्भीर कुरो भएको बताउँदै भने, ‘कर्मचारीलाई डर धाक तथा त्रास दिने काम भने राम्रो हैन, के रहेछ म बुझ्छु।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगंगा आँखा प्रतिष्ठान बिच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौडामा स्थानान्तरण गर्ने समझदारी भएको छ। मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारी-पत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिृकत डा रिता गुरुङले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मन्त्रालयले इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग स्थापनाका लागि प्रतिष्ठानका नाममा दुई करोड रुपैयाँ पक्की भवन निर्माण अनुदान निकासा गर्नेछ। सो रकम पक्की भवन निर्माणका कार्यबाहेक अन्यमा खर्च गर्न पाइने छैन। भवन निर्माण गर्दा गुणस्तरीयता कायम गर्नुपर्ने सम्झौतामा उल्लेख छ। प्रतिष्ठानले कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी लेन्स उत्पादन कम्पनी/उद्योग दर्ता प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ।

चालु आवका लागि निकासा भएको अनुदान रकम आगामी जेठसम्ममा खर्च गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ। चालु आवमा खर्च हुन नसकेको बजेट फिर्ता गर्नुपर्नेछ। सम्पादन भएको कार्यको भौतिक तथा वित्तीय प्रगतिको त्रैमासिक प्रगति प्रतिवेदन अनिवार्य रूपमा प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ।

विभाग स्थानान्तरणका लागि आवश्यक खरिद गर्ने, निर्माण गर्ने, लेखापाल गर्ने, लेखापरीक्षण गराउने, प्रतिवेदन गर्ने लगायत सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानको हुनेछ। लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ। समझदारी-पत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुवै पक्षका एकएक जना सम्पर्क अधिकृत तोक्ने सहमति भएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.