भदौ २४ गते, डोटी -डोटीको बडीकेदार गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिका –३ कि अन्दाजि ४२ वर्षीया विष्ना देवि रोकामगरको सुत्केरीपछि अत्याधिक रक्तश्राव हुँदा थप उपचारका लागि डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको, वडिकेदार गाउँपालिकाको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साईन हेलिकप्टर मार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
बडीकेदार गाउँपालिका स्वास्थ शाखा प्रमुख खडक धामीका अनुसार विहिबार साँझ ६ बजे सुत्केरी महिलाले मुलेचौर सामुदायिक स्वास्थ इकाईमा मृत बच्चा जन्माएकि थिइन् । साल अड्किएर अत्याधिक रक्तस्राव भए पश्चात् उनलाई गम्भिर समस्या देखिएकाले थप उपचारका लागी शुक्रबार बिहान १० बजे सवैको सहयोगमा उनलाई बाहिर पठाएको स्वास्थ शाखा प्रमुख धामीले शिला खबरलाई जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न समयमा नेपाली सेनाको हवाई सेवा मार्फत उद्धार गर्ने गरिएको भैरव प्रसाद गणका गणपति जनमतबहादुर कार्किले बताए ।