
धनबहादुर बोहरा, पुस १८ ,डोटी-जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले सुशासन युक्त समाज निमार्ण गर्न युवा पुस्ता जाग्न आवश्यक रहेको बताएका छन् ।
सोमबार सिलगढीमा बास नेपाल डोटी शाखाको तेस्रो जिल्ला अबिधेशनको उद्घाटन गर्दै प्रमुख सिंहले यस्तो कुरा बताएका हुन् ।
उनले भने,´ अहिले समाजमा बेथिति, भ्रष्टाचार अति नै मौलाएको छ । त्यसको अन्त्य गर्न युवा पुस्ता जाग्नु भन्दा अरू विकल्प छैन। जब सम्म युवा वर्ग स्वतःस्फूर्त रूपमा आफै जाग्दैन, बेथितिका सवालमा आवाज उठाउँदैन तबसम्म केही हुदैन् ।`
युवाहरूले आफूले सिकेका सिप व्यवहारमा कार्यान्वयन गर्नुका साथै युवा बर्गले अरूले केही देलान् र खाउँला भनेर त्यत्तिकै बस्न नहुने आफै केही गरेर खानुपर्ने समेत संयोजक सिंहले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि समेत रहेकी जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृति चुनाराले समाजमा हुने हरेक गतिविधिहरूमा युवा बर्गले नेतृत्व लिनुपर्ने बताइन् । डोटी जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संस्थाहरू रहेका भएपनी सुशासनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको आवश्यकता रहेकोले बास नेपालले आफ्ना गतिबिधीहरुलाई निरन्तरता दिनुपर्ने समेत बताइन् ।
देशभरी शाखा, उपशाखा रहेको बास नेपालले सञ्चालन गरेका सुशासनका अभियानहरू उदाहरणीय रूपमा देखिने गरेका गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष रघु बहादुर कठायले बताए । बास नेपाल सँग आबद्ध हरेक युवाहरूले आगामी दिनमा समाजको पहरेदारको भूमिकामा उभिनुपर्ने समेत उपाध्यक्ष कठायतले बताए ।
बास नेपालले युवा वर्गको सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा युवाहरूमा उत्साह जोस जागरण बढ्ने गरेको युवा समिति डोटीका अध्यक्ष हेम केसीले बताए ।
डोटी जिल्लाको विभिन्न क्षेत्रमा बास नेपालले सञ्चालन गरेका अभियानहरूले सामाजिक परिवर्तमान महत्त्वपूर्ण भूमिका निबार्ह गरेको गैर सरकारी संस्था महासंघ डोटीका सचिव भक्तराज उपाध्यायले बताए । बास नेपालले डोटीको गैरा गाउँमा भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरूको लागि न्यानो कपडा सहयोगको कामहरूको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
बास नेपाल डोटी शाखाका अध्यक्ष गणेश मौनीको अध्यक्षतामा भएको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति डोटीका प्रमुख, उप प्रमुख, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि,सुरक्षाकर्मी ,नागरिक समाज, पत्रकार, बास जिल्ला शाखाका पदाधिकारी लगायत बास सँग आबद्ध ६० जना भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।