

भदौ ,२३ गते -डोटीको सायल गाउँपालिकाकी एक सुत्केरी महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको सायल गाउँपालिका –६ का गोबिन्द साउँदकी २५ वर्षीया श्रीम्ति धौली देवि साउँदको सुत्केरीपछि अत्याधिक रक्तश्राव हुँदा थप उपचारका लागि डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला प्रशासन कार्यालय डोटीको पहलमा नेपाली सेनाको एन ए ०६१ कल साईन हेलिकप्टरद्वारा उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गणका गणपति जनमतबहादुर कार्किले बताए ।

साउँद बिहीबार बिहान रक्तश्राव भएर जिल्ला अस्पताल डोटीमा उपचारका लागी आएकी थिईन् ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट निराजन श्रेष्ठका अनुसार साउँदको भिडियो एक्सरे गर्दा शिशुको पेटमै मृत्यु भएको पाइएको र अप्रेसन गरेर मृत शिशु निकालिएकोे बताए । उनले भने ,‘ बच्चाको साल पाठेघरमा टाँसिएर पाठेघर उप्कीएका कारण बच्चाको पेटमै मृत्यु भएको थियो । अत्यधिक रक्तश्राब भइरहेकाले ५ पिन्ट रगत समेत दिएका हौं । गम्भिर समस्या देखिएकाले थप उपचारका लागि सवैको सहयोगमा बाहिर पठाएका छौं।’
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरुलाई विभिन्न समयमा नेपाली नेपाली सेनाको हवाई सेवा मार्फत उद्धार गर्ने गरिएको छ।
