अछामको साँफेबगर नगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी थालिएको छ ।
सरोकारवालावीच भएको छलफलमा पालिकालाई पाँच बर्षभित्र बालमैत्री घोषणा गर्ने गरि तयारी अघि बढाईने निष्कर्ष निकालिएको हो ।
नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले योजना अनुसार नगरलाई पाँच वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने प्रतिवद्धता जनाए ।
नगर स्तरीय वाल संजालको आयोजना, आस्था नेपाल र वल्र्ड भिजन नेपालको सहजीकरणमा भएको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले त्यसको लागि सवै पक्षको सहयोग हुनु पर्नेमा जोड दिए ।
२०८१ सालमा नगरको एक वडालाई वालमैत्री वडा घोषणा गरेर पाँच वर्षभित्र नगरपालिकालाई नै घोषणा गरिने बताए ।
उनले वालमैत्री नगरपालिका घोषणा गर्नको लागि नगरपालिका एक्लैले मात्र नसक्ने बताउँदै त्यसको लागि गैरसरकारी संस्थाको आवश्यक सहयोग हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिईने बताए ।
यस्तै बैठकले “बाल शोषण अन्त्य र बालमैत्री नगरको लक्ष्य, बाल अधिकार सुनिश्चितता साँफेबगरको सवल पक्ष“ नारा पनि तय गरेको आस्था नेपालका फिल्ड संयोजक भवान सिंह सार्कीले जानकारी दिए । यस्तै बालमैत्री नगरपालिका घोषणाको लागि पम्पलेट, व्यानर, स्टिकर छाप्ने र आस्था नेपालले प्राविधिक सहयोग गर्ने पनि निर्णय गरिएको छ ।
तत्कालै वडा स्तरिय बाल सञ्जाल गठन गर्ने र रणनीति योजना बनाउने निर्णय पनि गरिएको छ ।