Sujang

डोटीका ४९२ जनामा एचआईभी एड्स संक्रमण

डोटीका ४ सय ९४ जनामा एचआईभी संक्रमण देखिएको छ । पछिल्लो एक वर्षमा जिल्लाका १४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४ सय ९२ पुगेको हो ।

जिल्ला अस्पातलले दिएको जानकारी अनुसार हालसम्म संक्रमण पुष्टि भएका दुई सय १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक सय ४५ पुरुष र ७२ महिला रहेका छन् । जिल्लामा वार्षिक १० देखि १६ जनाको दरले संक्रमण बढ्दै गएको छ ।

संक्रमित हुनेमा महिलाहरुको संख्या बढी रहेको जिल्ला अस्पतालका एआरटी काउन्सिलर सर्मिला मलासीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला २९५ जना महिला र १९७ जना पुरुषमा संक्रमण देखिएको उहाँले बताउनु भयो । “पुरुषहरु कामका लागि वर्षेनी भारत जानेआउने गर्नुहुन्छ,“उहाँले भन्नु भयो,“नेपाल आएर स्वास्थ्य चेकजाँच गर्नु हुँदैन, केहीले रोग लुकाउनु हुन्छ । श्रीमानबाट संक्रमण सरेर स्वास्थ्यमा समस्या आएपछि महिलाहरु चेकजाँचका लागि बढी आउनु हुन्छ । त्यसकारण पनि महिला संक्रमितको संख्या वृद्धि भएको हो ।”

हालसम्मको तथ्याङ्क अनुसार एक सय १० जना संक्रमित जिल्लाबाट बसाइसराई गरेर अन्यत्र जानु भएको छ भने ७० जना संक्रमित सम्पर्क विहिन हुनु भएको छ । २० देखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरुमा एचआईभीको संक्रमण बढी देखिने गरेको छ ।

जिल्लाको तथ्याङ्क अनुसार ६ देखि १८ वर्ष मुनीका ३३ जना बालबालिकाहरुमा पनि संक्रमण देखिएको छ । १४ बालक र १९ बालिकाहरुमा संक्रमण देखिएको हो । डोटीबाट मजदुरीका लागि भारत जानेको संख्या धेरै छ । भारत जाने पुरुषहरुले त्यहाँ असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।

सुरुमा एचआईभी एड्स संक्रमणको चेकजाँच जिल्ला अस्पतालमा मात्रै हुने गरेको थियो । अहिले सो रोगको चेकजाँच अन्य अस्पतालहरुमा पनि हुने गरेको र औषधी खरिद गरेर सेवन गर्न सकिने भएकाले जिल्ला अस्पतालको तथ्याङ्क बाहिर पनि धेरै संक्रमित रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ । डोटीमा सिरिन्जको प्रयोग नहुने भएकाले असुरक्षित यौन सम्पर्ककै कारण संक्रमण बृद्धि हुँदै गएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.