
मंसिर १३ डोटी -डोटीमा नेकपा (एकीकृत समाजवादी) पार्टीले समानुपातिकतर्फ दुई हजार ३७३ मत मात्रै पाएको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ समाजवादीका प्रेमबहादुर आलेमगर २७ हजार २१० मतसहित विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका आले गठबन्धनकै मतले विजयी भएका हुन । समानुपातिकतर्फको मत हेर्दा उनको पार्टी जिल्लामा कमजोर देखिएको छ ।
प्रतिनिधि सभातर्फ समानुपातिकमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार प्रतिनिधि सभामा कांग्रेसले २२ हजार ५१६ मत पाएको छ भने नेकपा (एमाले)ले २२ हजार ४५६ मत पाएको छ । कांग्रेसले एमालेभन्दा ६० मत बढी प्राप्त गरेको हो । तेस्रो स्थानमा भने नेकपा (माओवादी केन्द्र) रहेको छ । सो पार्टीले छ हजार ९२४, नेकपा (एकीकृत समाजवादी)ले दुई हजार ३७३ र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार २४८ मत प्राप्त गरेका छन् ।
प्रदेश सभातर्फ भने नेकपा (एमाले)को अग्रता छ । प्रदेशतर्फ नेकपा (एमाले)ले २२ हजार ७५३ मत पाएको छ । सो पार्टीले प्रदेश (क)बाट १३ हजार ९५ र (ख)बाट नौ हजार ६५८ मत पाएको छ ।
नेपाली कांग्रेसले प्रदेश सभा (क)मा १२ हजार ४६ तथा प्रदेश (ख)बाट नौ हजार ७९१ मत गरेर कुल २१ हजार ८३७ मत पाएको छ । नेपाली कांग्रेसले प्रदेश (ख)मा नेकपा (एमाले)भन्दा बढी मत बटुले पनि प्रदेश (क)मा कम मत पाएको छ । (माओवादी केन्द्र)ले प्रदेश (क)बाट एक हजार ९८० तथा प्रदेश (ख)बाट चार हजार ३१८ मत गरेर कुल छ हजार २९८ पाएको छ। यस्तै नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ८३३ मत मात्र ल्याएको छ, जसमा प्रदेश (क)बाट एक हजार ७४३ तथा प्रदेश सभा (ख)मा दुई हजार ९० मत पाएको थियो ।