
डोटी : युएमएनले डोटीका भूकम्प प्रभावितहरूलाई न्यानो कम्बल सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका बीच युएमएन डोटी क्लष्टरद्वारा दुई सय थान कम्बल पूर्बीचौकी गाउँपालिका मार्फत प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो ।
युएमएन डोटी क्लष्टरका टिम लिडर रमेश थिङले गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायलाई दुई लाख ७१ हजार बराबरको कम्बल हस्तान्तरण गरेका हुन् ।
कम्बल हस्तान्तरण गर्दै थिङले सुत्केरी, बालबालिका तथा बृद्धबृद्धाहरूलाई पहिलो प्राथमिकतामा राखेर कम्बल वितरण गरिदिन पालिकालाई अनुरोध गरेका थिए ।
सामग्री बुझ्दै गाउँपालिका अध्यक्ष उपाध्यायले चिसोको समयमा सबैभन्दा आवश्यक पर्ने सामग्री न्यानो कपडा भएकाले, सोहि अनुसार सामग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद दिएका छन् ।
‘भूकम्प प्रभावितहरुका लागि तत्काल अस्थायी घरहरुको आवश्यकता परेको छ’, गाउँपालिका अध्यक्ष उपाध्यायले भने, ‘चिसोको मौसममा बाहीर रात कटाइरहेकाहरुको लागि तत्का टिन र काठको अस्थायी घर बनाउनुपर्ने चुनौति रहेको छ ।’ बस्ती पुःनिर्माणका लागि समेत उनले सबैमा सहयोगको आग्रह गरे ।
कार्तिक २२ गते राति गएको भूकम्पका गैरागाउँ, काडामाण्डौ लगायतका गाउँमा एक सय २० घर पूणर्रुपमा भत्कीएका छन् । त्यसैगरी एक हजार ११ घर बस्न नमिल्ने गरी चर्कीएका छन् भने तीन हजार पाँच सय भन्दा बढी व्यक्तिहरु प्रभावित भएका गाउँपालिका अध्यक्ष उपाध्यायले जानकारी दिए ।
भूकम्पबाट ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।