सुदूरपश्चिममा माओवादी केन्द्र प्रतिनिधिसभामा निल हुने भएको छ । ठुलो दल मानिएको कम्युनिस्ट पार्टीले यहाँ बिउ जोगाउन नसक्ने पक्का भएको छ ।
सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । उसले कैलालीको क्षेत्र नम्बर २,३ कञ्चनपुरको क्षेत्र नम्बर १ र बैतडीमा आफ्ना उम्मेदवार खडा गरेको थियो । तर एक ठाउँबाट पनि जित निकाल्न सकेको छैन ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने कञ्चनपुर १ र बैतडीमा एमालेले जितेको छ । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीको विजय पक्का जस्तै छ ।
कैलाली ३ मा माओवादीले संविधानसभा सदस्य कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको थियो।कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयनजिक छन् ।
यहाँ माओवादीले भगतबहादुर बडुवाललाई उम्मेदवार बनाएको थियो ।कञ्चनपुर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ विजयी भएका छन् । बैतडीमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका दामोदर भण्डारी विजयी भए ।