Sujang

डोटी र बझाङका भूकम्प पीडितको बिजोग, टनेलभित्र बास

बझाङको थलारा गाउँपालिका–८ बिस्खेत गाउँको हलिया बस्ती नजिकको यो टनेलभित्र भने महिला, बालबालिका र वृद्धवृद्धा अटेस–मटेस गरेर बसिरहेका छन् । जाडोले दम बढेर वृद्धवृद्धा खोकिरहेका थिए । बालबालिकाका अनुहार निन्याउरा देखिन्थे ।

रातभर टनेलबाट चुहिएको पानीले भिजेका ओढ्ने–ओछ्याउने कपडा खेतका आलीमा असरल्ल सुकाउन राखिएका थिए । स्थानीय गैरदलितको नाममा भएको जग्गामा घर बनाएर बसेका १८ परिवार भूमिहीन दलितहरू अहिले स्थानीय गैरदलितको एउटा खेत भाडामा लिएर एउटै प्लास्टिक टनेलभित्र रात काटिरहेका छन् ।
कात्तिक २२ को भूकम्प र त्यसपछि पटक–पटक गएका परकम्पका कारण उनीहरूका घर चर्केर छियाछिया भएका छन् । प्लास्टिकको टनेलबाट शीत चुहिने र ओढ्ने–ओछ्याउने लुगा गतिलो नभएका कारण यहाँ बस्न सकस भएको उनीहरू बताउँछन् ।

‘अहिलेसम्म कतैबाट राहत सहयोग केही पाएका छैनौं, शीत नचुहिने कपडाको पाल र ओढ्ने–ओछ्याउने गतिलो लुगा भइदिए पनि रात काट्न सजिलो हुने थियो,’ लालमती दमाईंले भनिन्, ‘वडाध्यक्ष आएर राहतको कुरा हुँदै छ भन्नुभएको छ तर अहिलेसम्म केही पनि पाएका छैनौं ।’ थलारा गाउँपालिकाभरिमा ४५ घर पूर्ण रूपमा भत्किएको ७३ वटा घर बस्न नमिल्ने गरी चर्किएको र ३ सय ५३ वटा घर चर्किएर जोखिम भएको जानकारी दिँदै राहत र पुनःस्थापनाका लागि गाउँपालिकाले काम गरिरहेको थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए ।

डोटीको पूर्वीचौकी गाउँपालिकाका पीडित पनि खुला आकाशमुनि बसिरहेका छन् । उनीहरूले अझैसम्म राहतसमेत पाउन नसकेको गुनासो गरेका छन् । त्रिपाल, टेन्ट, लत्ताकपडा तथा औषधिजन्य सामग्री अभाव रहेको पूर्वीचौकी–३ गैरागाउँका हर्क बोहराले बताए । उक्त भूकम्पले जिल्लाका १ हजार ४ सय १२ घरमा पूर्ण तथा ३ हजार ८ सय २ घरमा आंशिक क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम समितिका महासचिव देव बोहराले बताए ।

घरमा क्षति भएर विस्थापित भएकाहरू कठ्यांग्रिँदो चिसोमा खुला आकाशमुनि रात बिताउन बाध्य छन् । त्रिपालमुनि चिसो रात काट्न सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धालाई समस्या भएको पूर्वीचौकी–४ की सरस्वती खड्काले बताइन् । परकम्पका कारण चर्केका घरमा बस्न स्थानीय डराइरहेका छन् । कात्तिक २२ मा खप्तड केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । रासस

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.