
गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरुमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन् । धनगढीस्थित आफ्नै निजि निवासमा बसिरहेका प्रधानमन्त्री देउवाले जिल्लाभरिकै केही नेता, कार्यकर्तालाई बोलाएर भेटघाट र छलफल गरिरहेका हुन् ।
उम्मेदवारी चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरुलाई निवासमै बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । अगुवा नेता, कार्यकर्तासँग प्रधानमन्त्री देउवाले यहाँको चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका छन् ।
सचिव सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका छन् । ‘नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा शसक्तरुपमा खट्न निर्देशन दिनुका साथै जिल्लाभरिकै चुनावी अवस्थालाई प्रधानमन्त्रीले चाँसो लिइरहनु भएको छ ।’ सचिव सुनारले भने, ‘चुनावमै केन्द्रित रहेर प्रधानमन्त्रीज्यू कार्यकर्ता छलफलमा व्यस्त हुनुहुन्छ ।’
धनगढी उपमहानगरपालिका पर्ने क्षेत्र नम्बर ५ मा काँग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन् । क्षेत्र नम्बर ५ मा काँग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७० सालमा भएको उपनिर्वाचनमा तत्कालीन क्षेत्र नम्बर रहेको यहाँ काँग्रेसबाट ओझा विजयी भएका थिए ।
२०७४ को चुनावमा यहीँ क्षेत्रबाट उम्मेदवार बनेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई असहयोग गरेको अभियोगमा उनलाई काँग्रेसले साधारण सदस्यबाट समेत निस्कासन गरेको थियो । काँग्रेसकै कतिपय नेता, कार्यकर्ता ओझाको पक्षमा लागेकाले यहाँ गठबन्धनको जितमा चुनौती रहेको आँकलन गर्न थालिएपछि प्रधानमन्त्री देउवाले यहाँका असन्तुष्ट नेता, कार्यकर्तालाई मनाउने कोशिश गरिरहेका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री अबका दुई दिन धनगढीमै रहने जानकारी दिए । धनगढीमा रहँदा प्रधानमन्त्रीले चुनावी सभालाई सम्बोधन गर्ने औपचारिक कार्यक्रम भने नरहेको स्वकीय सचिव देउवाले बताए । उनका अनुसार प्रधानमन्त्री देउवा बुधबार दार्चुला र बैतडीमा हुने गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न यहीँबाट जानेछन् ।
‘प्रधानमन्त्री आज र भोलि धनगढीमै बस्नुहुन्छ । पर्सि यहीँबाट दार्चुला र बैतडी जाने कार्यक्रम छ ।’ स्वकीय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘धनगढीमा बस्दा कार्यकर्ता भेटघाटबाहेक औपचारिक कार्यक्रम छैन ।’
दार्चुला र बैतडीमा हुने गठबन्धनका संयुक्त चुनावी सभालाई प्रधानमन्त्रीसहित माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन् । २०७४ को निर्वाचनमा आरजु यहीँ क्षेत्रबाट उम्मेदवार बनेपछि देउवाले त्यतिबेला धनगढीमा घर किनेका थिए ।