

डोटीको बडिकेदार गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल बडिकेदारमा मेला लाग्ने भएकाले कार्तिक २० गते आइतबार एक दिन सार्वजनिक बिदा दिएको हो ।
शुक्रवार गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, गैर सरकारी सङ्घसंस्थाहरू, वित्तीय सङ्घसंस्था तथा विद्यालयहरूमा बिदा दिने जनाएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा रहेको बडिकेदारमा कार्तिक शुक्ल त्रयोदशीको राति र शिव वैकुण्ठ चतुर्दशीको दिन दिउँसो मेला लाग्ने गर्दछ ।
यो वर्ष २० गते राति र २१ गते दिउँसो मेला लाग्ने भएको छ । मेला भर्न सुदूरपश्चिम सहित भारतबाट समेत दर्शनार्थी आउने गर्दछन् ।
बडिकेदारको वारेमा जानकारी ।
पृष्ठभूमि
बडिकेदार धार्मिक पर्यटकीय क्षेत्रको नामवाट बडिकेदार गाउँपालिकाको नाम रखिएको हो । डोटी जिल्लाको दक्षिणी बोगटान क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ ।
परिचय
डोटी जिल्लाको बोगटान तथा बडिकेदार गाउँपालिकाको संगम स्थलका रुपमा रहेको प्रसिद्ध शक्ति पिठ बडिकेदार अर्थात ठुला केदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थल हो । समुद्री सतहदेखि १ हजार ८ सय मिटर उचाइमा रहेको बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेलामा थारु समुदायको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।
धार्मिक तथा सांस्कृतिक महत्व
सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर प्रसिद्ध बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ ।
मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बीचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडीकेदार बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्रायस्जसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन ।
पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरु आउन थालेका छन । यसले अपासी सद्भाव पनि बढाएको छ । छिमेकी मुलुक भारतका मान्छे सहित नेपाली दाजु भाई संग पनि भेट घाट हुने भएकाले यो मेला आपसी माया ममता साट्ने केन्द्र भएको छ ।
मनोकामना पूरा हुने भन्दै तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका सहर ९लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाही० बाट बर्षेनी कात्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आउने गर्दछन । खोँचमा रहेको बडिकेदार शिलाको दर्शन गर्न पाउनु नै तीर्थालुको मुख्य ध्येय रहने गर्दछ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
किवदन्ती अनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लाना गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् ।
सन्तान प्राप्त नभएका तमामौँ दम्पती समेत पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्छन् । सन्तान नभएकालाई सन्तान लाभका साथै मनोकांक्षा पूरा हुने भएकाले स्वदेश तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन् । भक्तजनहरुले जे सोचेर बडिकेदारको पूजाआजा गर्यो त्यो पूरा अर्थात मनोकांक्षा पुरा हुने धार्मिक बिश्वास रहि आएको स्थानीय बुढापाकाहरु बताउछन् ।
पर्यटकीय महत्व
बडिकेदार बोगटान क्षेत्रको मात्रै नभई तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका नागरिकको आस्थाको केन्द्र मानिएको डोटी क्षेत्र विशुद्ध धार्मिक पर्यटकीय स्थल हो, यहाँ कात्तिक बैकुण्ठ त्रयोदशीमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । भारत, तराई र पहाडी समुदायलाई जोड्ने ठूलो धार्मिक स्थल बडिकेदार भएकाले पर्यटकिय महत्व झल्किन्छ ।
प्राकृतिक सौन्दर्य
यहाँबाट अपी र शैपाल हिमाल देखिन सकिन्छ । सामुन्नेमै मिलेजस्तो लाग्ने कर्णाली र सेती नदीको दोभान र नाङ्गो आँखाले सहजै देख्न सकिने तराईको समथर भूमि अनि भारतको उत्तर प्रदेशको भूभाग निकै रमणीय लाग्छ । चिसो बतास चल्ने अग्लो डाँडो ९गाई बाच्छे० । राइसल्ला र खर्सुका जंगल ,भुत्केसर, सत्तु जस्ता अमूल्य जडीबुटी र निगालोको झाडीले घेरिएको त्यही डाँडोको खोँचमा धार्मिक आस्थाको धरोहर देवथानले प्राकृतिक सौन्दर्य बढाएको छ ।
पर्यटन प्रर्वद्धन
विस्तारै बडिकेदारको दैवीय शक्तिको प्रचार–प्रसार हुँदा पछिल्लो तीस वर्ष यता कैलाली, कञ्चनपुरका थारू समुदाय र भारतको उत्तर प्रदेशका दर्शनार्थी आउन थालेका छन् ।
