डोटी-आउँदो मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा डोटीमा गठवन्धनको सम्भावना नरहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बताएका छन् । नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी गर्दै जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गर्ने अवस्था नरहने उनले बताएका छन् ।
जनता, मतदाता र नेता कार्यकर्ताहरुको मनोभावना विपरीत कुनै पनि हालतमा गठबन्धन गर्न नसक्ने कुरामा सभापति बलायरले जोड दिए ।
बलायरले भने,‘ केन्द्रीय नेतृत्वले गठबन्धनका नाममा कुनै जनाधार नभएका पार्टी तथा नेताहरुलाई ल्याइनु हुँदैन ।
जिल्लामा अहिलेसम्म गठबन्धनमा रहेका नेताहरुले आफू तथा कांग्रेस पार्टीसंग संबाद तथा सहकार्य गरेका छैनन् । कांग्रेसको जनाधार नभएको जिल्लामा हामी छोड्न तयार छौं तर डोटीमा भने छोड्दैनौं हामीमध्ये जोसुकै टिकट पाउँला त्यो ठूलो कुरा होइन ।’
सुदूरपश्चिम प्रदेशको राजधानी अहिले डेरामा रहेको सभापति वीरबहादुर बलायरले बताए ।
पूर्व मन्त्रीसमेत रहेका बलायरले भने, ‘गोदावरीमा स्थायी राजधानी त तोकियो । तर कुनै हालतमा पनि उक्त ठाउँमा राजधानी हुन सक्दैन । पाँच वर्षमा राजधानी तोकिएको ठाउँमा कुनै भौतिक संरचना बनेको छैन । बन्नेवाला पनि छैन ।’
उनले थपे, ‘वन जंगल फडानी गर्न पाइँदैन । यदि नियम कानून विपरित रुख कटानी गरेमा नेपालले अन्तर्राष्ट्रिय अदालतमा उभिनु पर्ने स्थिति आउन सक्ने संकेत गरे । डोटीमा राजधानी हुन नसक्नु दुर्भाग्य हो । स्थायी राजधानी नआउनुको कारण निर्वाचित तत्कालीन नेकपाका सांसद र मुख्यमन्त्री रहेको आरोप लगाए ।’