

असोज १२ गते, डोटी : दसैँ–तिहारलाई लक्षित गर्दै डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा होटल तथा किराना पसलको अनुगमन गरिएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा होटल तथा किराना पसलमा खाद्य सामग्रीको म्याद, गुणस्तर, मूल्यसूची तथा पसलको सरसफाइ र अवस्थाबारे निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा करिब २३ वटा होटल तथा पसलको निरीक्षण गरिएको थियो। सो क्रममा म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त विभिन्न खाद्य सामग्री फेला परेका थिए।

जिल्ला प्रशासन कार्यालय डोटीका नायब सुब्बा सुरेन्द्र प्रसाद जोशीका अनुसार केही खुद्रा पसलबाट करिब ६ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तु जफत गरी प्रचलित कानुनी व्यवस्थाअनुसार नष्ट गरिएको छ।
दसैँ–तिहारजस्ता चाडपर्वका समयमा खाद्य सामग्रीको कारोबार तथा उपभोग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्।
अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ता हित संरक्षण, खाद्य स्वच्छता, मूल्यसूची राख्ने व्यवस्था, वस्तुको म्याद तथा गुणस्तर कायम गरी बिक्री–वितरण गर्न र प्रचलित कानुनी प्रावधानको पूर्ण पालना गर्न निर्देशन दिँदै सचेत गराइएको छ।
उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा अधिकार संरक्षणका लागि आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय डोटी, घरेलु तथा साना उद्योग कार्यालय राजपुर, गुणस्तर तथा नापतौल कार्यालय डोटी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी तथा पत्रकारलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।
