Sujang

सिडिसी डोटीको वार्षिक सामाजिक परीक्षण सम्पन्न,कार्यक्रमको प्रभावकारिता र दिगोपनामा जोड

Ban

राज पार्की , असोज ७,डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार जिल्ला समन्वय समिति (जिसस) डोटीको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
सिडिसी डोटीका अध्यक्ष निर्मला रोस्याराको अध्यक्षता तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थाले एक वर्षको अवधिमा सञ्चालन गरेका विकास निर्माण, सामाजिक सचेतना तथा लक्षित वर्ग केन्द्रित कार्यक्रम र गतिविधिको समीक्षा तथा छलफल गरिएको थियो।

सामाजिक परीक्षणका क्रममा सहभागीहरूले संस्थाले सञ्चालन गरेका आयोजना तथा कार्यक्रमको दिगोपना, बालबालिकालाई बाल क्लबमार्फत विकासमा जोड्ने विषय तथा सीमान्तकृत र पछाडि पारिएका समुदायलाई विकासको मूल प्रवाहमा समेट्ने विषयमा जिज्ञासा र सुझाव राखेका थिए।

सिडिसी डोटीका कार्यक्रम प्रबन्धक दिनेश बमले स्थानीय तहमा बालबालिकाको क्षेत्रमा निरन्तर काम भइरहेको जानकारी दिँदै उनीहरूको क्षमता अभिवृद्धि, नीतिगत सुधार तथा पुनर्गठनका कार्य अघि बढिरहेको बताउनुभयो। स्थानीय तह तथा सरोकारवालासँगको समन्वयमा बालबालिका, सीमान्तकृत तथा पछाडि पारिएका वर्गलाई लक्षित कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। लागुऔसध दुर्ब्यसनी,बढ्दो आत्महत्याका घटना न्यूनीकरणका लागि लक्षित कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उहाँले गैरसरकारी संस्थाका कार्यक्रम परियोजना अवधिमा मात्र सीमित नभई दीर्घकालीन प्रभाव पार्ने खालका हुनुपर्नेमा जोड दिनुभयो।

Krishi

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले महिलालाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउनुपर्ने बताउनुभयो। विद्यालयमा भौतिक तथा शैक्षिक सहयोग मात्र पर्याप्त नहुने भन्दै उहाँले बालबालिकालाई आफ्नो कर्तव्य र दायित्वबारे समेत सिकाउनुपर्ने धारणा राख्नुभयो।

आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले सिडिसी डोटीले समुदायस्तरमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सकारात्मक गतिविधिलाई आगामी दिनमा थप व्यापक र निरन्तरता दिनुपर्ने बताउनुभयो।

जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले सिडिसीका सचेतनामूलक कार्यक्रमले समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेको बताउनुभयो। उहाँले प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिन जिससको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउँदै अभिभावकका लागि सचेतनामूलक कक्षा सञ्चालन, वातावरण संरक्षण तथा लक्षित वर्गसम्म कार्यक्रमको वास्तविक पहुँच पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

समापन कार्यक्रममा सिडिसी डोटीका अध्यक्ष निर्मला रोस्याराले संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै समुदायस्तरमा कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थाका गतिविधिबारे कुनै गुनासा, सुझाव वा सल्लाह भए संस्थालाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा सिडिसी डोटीका उपाध्यक्ष कृष्णबहादुर कामीले स्वागत मन्तव्य राख्नुभएको थियो। साझेदारीमा काम गरिरहेका वर्ल्ड भिजन इन्टरनेशनल नेपालका डोटी जिल्ला संयोजक गांगी बलायर, गुड नेभर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला संयोजक रञ्जित चौधरीलगायतले पनि धारणा राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.