

असोज ५,डोटी : नेपाल सरकारले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको रकममा भारी कटौती हुने गरी कार्यविधि संशोधन गरेको विरोधमा नेपाल पत्रकार महासंघ डोटी शाखाले जिल्ला हुलाक कार्यालय दिपायलमा ज्ञापनपत्र बुझाएको छ।
महासंघको केन्द्रीय सर्कुलरअनुसार सोमबार (असोज ५ गते) शाखाले हुलाक कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको हो।

शाखा अध्यक्ष प्रकाश बमद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा सञ्चार क्षेत्रको हितसँग बाझिने गरी ल्याइएको अनुदार कार्यविधि तत्काल खारेज गर्न माग गरिएको छ।
साथै महासंघको माग सम्बोधन नभएसम्म लोककल्याणकारी विज्ञापन सम्बन्धी बिल नबुझाउन सम्बद्ध सञ्चारमाध्यमलाई आग्रह गरिएको पनि ज्ञापनपत्रमा उल्लेख छ।
विज्ञापन रकम कटौतीले विशेषगरी मोफसलका साना सञ्चारमाध्यमहरू थप संकटमा पर्ने भन्दै निर्णय पुनर्विचार गर्न महासंघले माग गरेको छ। माग अविलम्ब सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको पेसागत सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिएको छ।
