

असोज ३, डोटी: संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा डोटीमा र्यालीसहित कोणसभा आयोजना गरिएको छ।
सनिवार बिहान जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको र्याली जिल्ला अस्पताल डोटी पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रमका क्रममा जिल्ला अस्पताल डोटीमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गरिएको थियो।
कोणसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले नेपालको संविधानका प्रमुख विशेषता, संविधानको विकासक्रम तथा कार्यान्वयनका विषयमा प्रकाश पार्दै संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, समानता, स्वतन्त्रता, मानवअधिकार तथा प्रेस स्वतन्त्रताजस्ता उपलब्धिको संरक्षण र प्रभावकारी कार्यान्वयन गर्दै समृद्ध, सुशासित र समतामूलक नेपाल निर्माणतर्फ अघि बढ्नुपर्ने बताउनुभयो।
उहाँले स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारितामार्फत नागरिकको सूचनाको अधिकार संरक्षण गर्दै लोकतन्त्र र संविधानको मर्मलाई अझ बलियो बनाउन सबैमा प्रतिबद्धताको भावना जागृत हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा गैरसरकारी संस्था प्रतिनिधि सरिता दियाली र जेन–जी प्रतिनिधि सपना मलासीले समेत संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
जिल्ला समन्वय समिति डोटीका निमित्त समन्वय प्रमुख रामबहादुर खड्काले संविधानको प्रभावकारी कार्यान्वयनमा राज्यका सबै निकाय र नागरिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमले संविधानका मूल भावना, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक अधिकारको संरक्षण तथा कार्यान्वयनप्रति प्रतिबद्धता जनाउने अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, राजनीतिक दल, गैरसरकारी संस्था, नागरिक समाज तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
