Sujang

डोटीमा आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Ban

भदौ २२ गते ,डोटी : सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागमा केही दिनयता निरन्तर वर्षा भइरहेको र आगामी तीन दिनसम्म मेघगर्जनसहित वर्षा कायमै रहने सम्भावना रहेकाले डोटीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय डोटीको विपद् व्यवस्थापन शाखाले सोमबार जारी गरेको सूचनामा वर्षाका कारण बाढी, पहिरो, नदी कटान तथा सडक अवरोध जस्ता विपद्का घटना हुनसक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

Krishi

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालद्वारा हस्ताक्षर गरिएको सूचनामा वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुनसक्ने, खहरे खोला तथा नदीमा पानीको सतह बढ् नसक्ने र तटीय क्षेत्रमा बाढी तथा नदी कटानको जोखिम हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ।
प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त पहाडी सडक तथा क्षेत्रमा यात्रा नगर्न र वर्षाको समयमा खोला, नदी तथा तटीय क्षेत्रमा नजान अनुरोध गरेको छ।

त्यस्तै, बाढी तथा पहिरोको जोखिममा रहेका परिवारलाई पूर्व तयारी अवस्थामा रहन र आवश्यक परे स्थानीय तह, वडा तथा स्थानीय प्रहरीसँग समन्वय गरी सुरक्षित स्थानमा सर्न तयार रहन प्रशासनले आग्रह गरेको छ।

यातायात व्यवसायी तथा चालकलाई सडकको अवस्था कमजोर वा जोखिमयुक्त देखिएमा सावधानीपूर्वक मात्र सवारी सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु तथा सामान नबोक्न समेत अनुरोध गरिएको छ।

प्रशासनले मौसम तथा विपद्सम्बन्धी सूचना स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट नियमित रूपमा लिन आग्रह गर्दै विपद्जन्य घटना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ तथा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय डोटीले “सतर्कता अपनाऔँ, सुरक्षित रहौँ” भन्दै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई पूर्व तयारी अवस्थामा रहन अपिल गरेको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.