Sujang

बाढीपीडितका लागि पद्म पब्लिक माविका विद्यार्थीले संकलन गरे ४१ हजार ८२५ रुपैयाँ

Ban

डोटी, १५ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डोटी सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीले ४१ हजार ८२५ रुपैयाँ सहयोग गरेका छन्।

विद्यालयमा कक्षा २ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आफ्नै नास्ता खर्चबाट रकम बचत गरी स्वतःस्फूर्त रूपमा उक्त रकम संकलन गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले जानकारी दिए।

Krishi

प्रधानाध्यापक ओझाका अनुसार कक्षा २ का विद्यार्थीले ४० रुपैयाँ, कक्षा ३ बाट ३७५, कक्षा ४ बाट ६६५ र कक्षा ५ बाट १ हजार १० रुपैयाँ संकलन गरेका थिए।

त्यस्तै, कक्षा ६ बाट ४ हजार ४५, कक्षा ७ बाट ५ हजार ५५०, कक्षा ८ बाट ५ हजार ५१५, कक्षा ९ बाट ३ हजार ६५५ र कक्षा १० बाट ६ हजार ६७५ रुपैयाँ संकलन भएको थियो। कक्षा ११ र १२ का विद्यार्थीले भने १४ हजार २९५ रुपैयाँ सहयोग गरेका छन्।
‘आफूले सक्दो रकम विद्यार्थीहरूले आफैं संकलन गरेर सरकारको कोषमा जम्मा गरिदिन हामीलाई दिए,’ प्रधानाध्यापक ओझाले भने, ‘उक्त रकम हामीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएका छौं।’

विभिन्न व्यक्ति तथा संस्थाले बाढीपीडितको सहयोगका लागि सरकारको कोषमा रकम जम्मा गरिरहेको समाचार पढेपछि आफूहरूलाई पनि सहयोग गर्ने इच्छा जागेको विद्यार्थीहरूले बताएका छन्।
कक्षा १२ मा अध्ययनरत मदन बोगटीले विपद्को समयमा आफूहरूले पनि थोरै भए पनि पीडितलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम संकलन गरेको बताए।
‘सबै विद्यार्थी साथीहरूले मनैदेखि सहयोग गर्ने इच्छा राखेर आफैं रकम जम्मा गर्‍यौं,’ बोगटीले भने, ‘विपद्को बेलामा हामीले पनि थोरै भए पनि पीडितहरूलाई सहयोग गर्न खोजेका हौं।’

Salmuni
Leave A Reply

Your email address will not be published.