Sujang

भोटेकोशी बाढीपीडितका लागि डोटी उद्योग वाणिज्य संघको १ लाख ३४ हजार रुपैयाँ सहयोग

Ban

भदौ १३, डोटी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डोटी उद्योग वाणिज्य संघले १ लाख ३४ हजार ३ सय २३ रुपैयाँ सहयोग गरेको छ।
संघले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी शनिबार जिल्ला प्रशासन कार्यालय डोटीमार्फत चेक हस्तान्तरण गरेको हो।

बाढीका कारण उद्योगी–व्यवसायीले सञ्चालन गरेका व्यवसाय, भौतिक संरचना, कृषियोग्य जमिन, खेतीबाली तथा अन्य सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रम साउँदले बताए।

उनका अनुसार डोटी उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, बजार व्यवस्थापन समिति तथा जिल्लाका उद्योगी, व्यापारी र सहयोगी दाताहरूको सहभागितामा रकम संकलन गरिएको उनले बताए । दिपायल एरपाेर्ट बजार , पिपल्ला र राजपुर बजारमा आर्थिक सहयोग संकलन गरिएको साउँदले बताए ।

Krishi

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी संघले प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई चेक हस्तान्तरण गरेको हो।

चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले विपत्तिको समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गरेकोमा डोटी उद्योग वाणिज्य संघलगायत सहयोगी सबैलाई धन्यवाद व्यक्त गरिन्। उनले विपत्तिको यस घडीमा संसारभर रहेका नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न आग्रह समेत गरिन्।

संघले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना तथा व्यवसाय पुनःसञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सम्बन्धित कोषमा थप सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघले पनि भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि निजी क्षेत्रलाई सक्रिय रूपमा सहयोग गर्न आह्वान गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.