
डिल बहादुर महरा”अविचल”
शीर्षक :- “भाइटीका”
छन्द :- शार्दूलविक्रीडित
।१।
भाग्यो बादल साथ साथ कुहिरो,गर्मी र बर्षा सब ।
बेला स्वच्छ शरद् समस्त दिलमा,आनन्दको वैभव ।।
देखिन्छन् नव चम्किला रहरिला,डाँडा र पाखाहरू ।
हेर्छन् दृश्य तिहारका झिलिमिली,आनन्द आँखाहरू।।
।२।
हाँस्छन् बाग बगान नित्य मदमा,यी फूलका मञ्जरी ।
फुल्छन् फूल यहाँ जुही मखमली,शृङ्गार भर्ने गरी ।।
छायो उत्सुकता अगम्य सबमा,उल्लासको पर्व हो ।
हाम्रो धार्मिक चाड वर्ष दिनको,विश्वास हो गर्व हो ।।
।३।
आए माइतमा दिदी र बहिनी,उत्साह बोकीकन ।
बाँड्छन् आपसमा खुसी र ममता,झुल्किन्छ नौलोपन ।।
पाके मिष्ठ अनेक वस्तु घरमा,बेला बन्यो कञ्चन ।
बा आमा अनि दाजुभाइ सँगमा,गर्छन् मनोरञ्जन ।।
।४।
लक्ष्मी काग र श्वान गोरु सँगमा,गाई हुने पूजन ।
दिन्छन् दाजु र भाइमा रहरमा, टीका तथा भोजन ।।
हर्षोल्लास अनन्त भर्छ करुणा,प्राणी सबैमा जब ।
लक्ष्मीले धन-धान्य पारिरहने,धर्ती भरी गज्जब ।।
।५।
बाँड्छन् प्रेम समस्तमा सुख दिने,रङ्गी र चङ्गी हुने ।
भर्छन् सोम सुखानुभूति सरिता,सम्भावना ल्याउने ।।
“टीका” भाइ तिहार पर्व रसिलो,खुल्छन् यहाँ जीवन ।
मौका ल्याउँछ यो बडो मिलनको,झल्काउँदै यौवन ।।