Sujang

अपांगता भएका व्यक्तिको प्रोफाइल निर्माण गर्न शिखरमा गणक खटाइदै

Ban

डोटी, भदौ १०: शिखर नगरपालिकामा अपांगता भएका व्यक्तिहरूको विस्तृत प्रोफाइल निर्माण गर्न १५ जना गणक परिचालन गरिने भएको छ।
सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीको आयोजनामा गणकहरूका लागि मंगलबार र बुधबार दिपायलमा दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको हो।

Krishi

भदौ १५ देखि २४ गतेसम्म १० दिनमा नगरपालिकाका ११ वटै वडामा घरघरमै पुगेर अनलाइनमार्फत अपांगता भएका व्यक्तिहरूको तथ्यांक संकलन गरिने सीडीसी डोटीका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले जानकारी दिनुभयो।
तालिमको उद्घाटन शिखर नगरपालिकाका नगर उपप्रमुख सुनिता रावल जोराको अध्यक्षता तथा नगरप्रमुख दीर्घबहादुर बलायरको प्रमुख आतिथ्यमा भएको थियो। अपांगता अधिकारकर्मी तथा सुदूरपश्चिम प्रदेश अपांग महासंघका अध्यक्ष नन्दराज भट्टले तालिमको सहजीकरण गर्नुभएको थियो।
प्रोफाइलमा अपांगता भएका व्यक्तिहरूको संख्या, अपांगताको प्रकार, उमेर, लिंग, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहायक सामग्रीको आवश्यकता, पहुँचयुक्त वातावरण तथा सामाजिक–आर्थिक अवस्थालगायत विवरण समेटिनेछ। यसबाट उनीहरूको अवस्था, आवश्यकता, समस्या तथा उपलब्ध सेवा र अवसरको पहिचान गरी स्थानीय तहमा योजना निर्माण तथा सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सीडीसी डोटी र लुथरन वल्र्ड फेडरेसन नेपालको साझेदारीमा सञ्चालित सक्षम परियोजनाअन्तर्गत प्रोफाइल निर्माण गर्न लागिएको हो। परियोजनाले मुक्त हलिया तथा दलित, नागरिक समाज संस्था (सीएसओ) र तिनका सञ्जाललाई सशक्त बनाउँदै सामाजिक, आर्थिक तथा जलवायु न्याय प्रवर्द्धनका लागि सरोकारवाला निकायसँगको सहकार्य सुदृढ गर्ने उद्देश्य राखेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार शिखर नगरपालिकाको कुल जनसंख्या ३० हजार ३ सय ९९ मध्ये करिब २ दशमलव ८ प्रतिशत अर्थात् ८ सय ५१ जना अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ।
कार्यक्रम संयोजक उपाध्यायले तथ्यांक संकलनका क्रममा गणकहरूलाई आवश्यक सहयोग गर्न वडा बासी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अपांगता सञ्जाल तथा समूह, आमा समूह, कृषि समूहलगायत सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.