

भदौ ८ गते, डोटी : शिखर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, आवश्यकता र पहुँचसम्बन्धी विस्तृत तथ्यांक संकलन गरी प्रोफाइल निर्माण गर्ने कार्य सुरु हुने भएको छ।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आयोजनामा सोमबार शिखर नगरपालिकामा आयोजित समन्वयात्मक बैठकले अपाङ्गता भएका व्यक्तिहरूको घरधुरी सर्वेक्षणमार्फत तथ्यांक संकलन गर्ने निर्णय गरेको हो। बैठक नगर उपप्रमुख सुनिता रावल जोराको संयोजकत्वमा सम्पन्न भएको थियो।
बैठकमा नगरप्रमुख दीर्घबहादुर बलायर, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रमुखसहित २५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण अपाङ्गता अधिकारकर्मी तथा सुदूरपश्चिम प्रदेश अपाङ्ग महासंघका अध्यक्ष नन्दराज भट्टले गर्नुभएको थियो।
कार्यक्रम संयोजक भक्तराज उपाध्यायका अनुसार प्रोफाइलमा अपाङ्गता भएका व्यक्तिको संख्या, अपाङ्गताको प्रकार, उमेर, लिंग, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहायक सामग्रीको आवश्यकता, पहुँचयुक्त वातावरण तथा सामाजिक–आर्थिक अवस्थालगायतका विवरण समेटिनेछ।

नगरपालिकाले सिफारिस गरेका १६ जना गणकलाई मंगलबार र बुधबार दुई दिने क्षमता विकास तालिम प्रदान गरिनेछ। त्यसपछि ‘एक्टिभिटी इन्फो’ विधिमार्फत घरधुरी सर्वेक्षण गरी तथ्यांक संकलन गरिने उपाध्यायले जानकारी दिनुभयो।
शिखर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ का अनुसार शिखर नगरपालिकाको कुल जनसंख्या ३०३९९ मध्ये करिव २.८ प्रतिशत अर्थात ८५१ जना ब्यक्तिहरु अपांगता भएका ब्यक्तिहरु रहेको तथ्यांक रहेको छ ।
नगरप्रमुख बलायरले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा प्रभावकारी योजना तथा बजेट निर्माणका लागि प्रोफाइल महत्वपूर्ण हुने बताउनुभयो। उहाँले प्रोफाइल निर्माणका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिमाथिका व्यवहारजन्य, वातावरणीय, सामाजिक तथा भौतिक अवरोध हटाउन निरन्तर काम भइरहेको बताउनुभयो।
सिडिसी डोटी र लुथरन वल्र्ड फेडरेसन नेपालको साझेदारीमा सञ्चालित ‘सक्षम परियोजना’ अन्तर्गत शिखर नगरपालिकामा प्रोफाइल निर्माणको कार्य अघि बढाइएको हो।
नगर उपप्रमुख सुनिता रावल जोराले तथ्यांक संकलनमा गणकलाई सहयोग गर्न वडा बासी, जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका लगायत सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ।
